रमेश रावत
अछाम फागुन १७ गते । निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउनुहुने भएको छ । प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यका साथ मन्त्रिस्तरीय अनुगमनलाई महत्त्वका साथ हेरिएको छ । गृहमन्त्री अर्याल आज दिउँसो १२ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका आइपुग्ने कार्यक्रम रहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा समीक्षा गर्नुहुनेछ । साथै बझाङ र बाजुरामा समेत सुरक्षा अवस्थाबारे जानकारी लिँदै सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
मन्त्रिस्तरीय भ्रमणलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ । स्थानीय तह र सुरक्षा निकायबिच समन्वयलाई अझ प्रभावकारी बनाउँदै निर्वाचन प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको बताइएको छ ।