• १७ फागुन २०८२, आइतबार

‘निर्वाचनलाई विश्वसनीय बनाउन प्रर्यवेक्षकको भूमिका महत्त्वपूर्ण’

blog

अभिमुखिकरणमा सहभागि बाँकेका पर्यवेक्षकहरु । तस्बिर :सिराज खान

सिराज खान
नेपालगन्ज, फागनु १७ गते ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाँकेले जिल्लाका विभिन्न स्थानमा पर्यवेक्षण गर्ने जिम्मेवारी पाएका निर्वाचन प्रर्यवेक्षकहरुलाई अभिमुखिकरण गरेको छ ।

सो अभिमुखिकरण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचनलाई विश्वसनिय बनाउन पर्यवेक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सरकार स्वच्छ, निष्पक्ष, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न लागि परेको बताउँदै सबैले निर्वाचन आचारसंहिताको पालना गर्दै व्यवसायिक रुपमा काम गर्न अनुरोध पनि गर्नुभयो । निर्वाचनमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भन्दै प्रमुख जिल्ला अधिकारी तामाङले सामूहिक कार्यलाई सबैले भूमिका निर्वाह गरी सम्पन्न गर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

यसैगरी, अभिमुखिकरणमा बोल्दै नियोक लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गौतमले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै पर्यवेक्षण गर्न सबैलाई अनुरोध गर्नुभयो । नियोकले जेनजीहरुलाई समेत पर्यवेक्षकको रुपमा खटाएको उहाँले बताउनुभयो ।

नियोक बाँके शाखाका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले निर्वाचनलाई सफल पार्नु हामी सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

अभिमुखिकरणमा पर्यवेक्षणको उद्देश्य, निर्वाचन पर्यवेक्षकले ध्यान दिनुपर्ने कुराहरु, पर्यवेक्षकको भूमिका, मौन अवधि, निर्वाचनका दिनदेखि मतदान सम्पन्न भएसम्म पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता, रिपोर्टिङ प्रक्रिया, कल सेन्टर लगायतका विषयमा नियोक जिल्ला समिति बाँकेका अध्यक्ष नमस्कार शाह र सचिव हेमराज भट्टले सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण पश्चात पर्यवेक्षकहरुलाई नियोक लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गौतमले सपथ ग्रहण गराउनुभयो । 
प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि बाँकेमा नियोकबाट ११ र जेनजीबाट १० जना पर्यवेक्षकले जिल्ला भरी पर्यवेक्षण गर्ने जिम्मेवारी पाएका छन् ।