• १७ फागुन २०८२, आइतबार

समाचार सङ्कलन गर्दा सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह

blog

अनिल पराजुली    
हेटौँडा, फागुन १७ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा समाचार सङ्कलन गर्दा सम्भावित जोखिमप्रति सतर्क रहन नेपाल पत्रकार महासंघ बागमती प्रदेशले सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ । महासंघले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्षेत्रमा खटिँदा व्यक्तिगत सुरक्षा, स्वास्थ्य तथा व्यावसायिक मर्यादालाई विशेष ध्यान दिन प्रदेशभरका सञ्चारकर्मीलाई अनुरोध गरेको हो ।

निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा सफल बनाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रदेश अध्यक्ष कृष्ण सारु मगरले व्यावसायिक धर्मलाई उच्च राख्दै सन्तुलित र वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले सबै सञ्चारकर्मीलाई पेशागत मर्यादा कायम राख्दै निष्पक्ष र तथ्यमा आधारित सामग्री प्रकाशन तथा प्रसारण गर्न अनुरोध गर्नुभएको छ ।

जारी विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा महिला, दलित, अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायका आवाजलाई उचित स्थान दिनुपर्नेमा जोड दिइएको छ । साथै सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममार्फत फैलिन सक्ने ‘मिस–इन्फर्मेसन’, ‘डिस–इन्फर्मेसन’ र घृणात्मक अभिव्यक्तिप्रति सचेत रहँदै तथ्यपरक समाचार मात्र प्रकाशन–प्रसारण गर्न आग्रह गरिएको छ ।

महासंघले प्रेस काउन्सिल नेपाल द्वारा जारी ‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६)’ तथा निर्वाचन आयोग ले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ को पूर्ण पालना गर्न समेत सबै सञ्चारकर्मीलाई आह्वान गरेको छ ।

निर्वाचन लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने महत्त्वपूर्ण प्रक्रिया भएकाले यसलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको महासंघले जनाएको छ । सूचना प्रवाहका क्रममा संवेदनशीलतालाई मनन गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी तटस्थ र सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।