• १७ फागुन २०८२, आइतबार

परिपक्व नेतृत्वको खोजी

blog

लोकतान्त्रिक शासनव्यवस्थामा निर्वाचनलाई केवल सरकार परिवर्तनको यान्त्रिक प्रक्रिया मात्र मानिँदैन, बरु यो एक महापर्व हो, जहाँ सार्वभौम जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो भविष्यको मार्गचित्र कोर्ने गर्छन् । आधुनिक लोकतन्त्रको आधारशिला नै प्रतिनिधिमूलक शासनव्यवस्था हो । जनसाङ्ख्यिकीय आकार सानो हुँदाको प्रत्यक्ष लोकतन्त्रको अभ्यास–जहाँ सबै नागरिक एकै ठाउँमा भेला भएर निर्णय लिन्थे, आजको जटिल समाजमा सम्भव छैन । जनताका मुद्दाहरूमा गहन छलफल गर्ने, साझा धारणा बनाउने र त्यसलाई नीतिगत रूप दिएर कार्यान्वयन गर्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिमा निहित हुन्छ ।

हामीले अभ्यास गरिरहेको यो अप्रत्यक्ष लोकतन्त्रलाई अझ समुन्नत र जनमुखी बनाउनु आजको प्रमुख कार्यभार हो । लोकतन्त्रलाई सहज र जीवन्त बनाउनुको अर्थ निर्वाचन प्रक्रियालाई परिपक्व र मर्यादित तुल्याउनु हो । निर्वाचनको समय भनेको समाजले आफ्ना प्राथमिकता तय गर्ने, दलहरूका एजेन्डामाथि निर्मम बहस गर्ने र रणनीतिक योजनाको तुलनात्मक अध्ययन गर्ने उपयुक्त अवसर हो । यो अवसरलाई प्रतिस्पर्धीलाई खुइल्याएर वा गालीगलौज गरेर होइन, बरु आफ्ना सबल पक्ष र नीतिगत स्पष्टता मतदातासमक्ष राखेर उपयोग गरिनुपर्ने हो । नकारात्मकता र निषेधको मानसिकतालाई जरैदेखि उखेलेर फाल्ने र स्वस्थ प्रतिस्पर्धाको जग बसाल्ने माध्यम पनि निर्वाचन नै हो ।

विडम्बना नै भन्नु पर्छ, नेपालको सात दशक लामो लोकतान्त्रिक सङ्घर्ष र अभ्यासमा बिते पनि निर्वाचनले लोकतन्त्रवादीलाई पूर्णतः आश्वस्त र निर्धक्क बनाउन सकेका छैनन् । सिद्धान्ततः निर्वाचन स्वस्थ प्रतिस्पर्धाको उत्सव हुनुपर्नेमा, व्यवहारतः यो अस्वस्थ होडबाजी, फोहोरी व्यक्तिगत टिप्पणी र एकअर्कामाथि हिलो छ्यापेर आफूलाई अब्बल देखाउने दुष्चक्रबाट मुक्त हुन सकेको छैन । यो प्रवृत्ति अझै पनि हाम्रो राजनीतिमा बलियो रूपमै उपस्थित देखिन्छ, जुन चिन्ताको विषय हो ।

पछिल्लो समय मुलुकमा देखिएको ‘जेनजी’ पुस्ताको आन्दोलन र त्यसले निर्माण गरेको नयाँ मनोविज्ञानको पृष्ठभूमिमा भइरहेको यो निर्वाचन विशेष महìवको छ । यो नयाँ परिवेशमा राजनीतिक दलहरूले परम्परागत ढर्रा त्यागेर एजेन्डामा आधारित बहस गर्लान्, निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको अवसरका रूपमा ग्रहण गर्लान् र समाजलाई नयाँ दिशा देलान् भन्ने आमअपेक्षा थियो । नयाँ समयको माग अनुसार सबैको सोच नयाँ होला भन्ने अपेक्षा गरिनु अस्वाभाविक पनि होइन । किनकि, निर्वाचनका बेला राजनीतिक नेतृत्वले जति धेरै संयम, शालीनता र स्वस्थ प्रतिस्पर्धाको अभ्यास गर्छन्, समाजले कालान्तरमा त्यसैलाई अनुसरण गर्ने हो ।

राजनीतिशास्त्रका विद्वान्ले बारम्बार औँल्याउने गरेको तथ्य के हो भने चुनावअगाडिको अस्वस्थ प्रतिस्पर्धाले जगाएको प्रतिशोध र विभाजनको भावना चुनावपछि पनि समाजमा सधैँभरिको समस्या भएर उभिन्छ । राजनीतिक नेतृत्व यसमा सचेत हुनुपर्ने हो तर वर्तमान चुनावी परिदृश्य नियाल्दा मिश्रित अनुभूति हुन्छ ।

तुलनात्मक रूपमा विश्लेषण गर्दा, यो चुनावका समयमा नेपाली कांग्रेसले आफूलाई निकै संयमित र जिम्मेवार रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ । विगतमा आक्रामक भाषण र शैलीबाटै स्थापित भएका कांग्रेसका नयाँ पुस्ताका प्रभावशाली नेताहरू, जो अहिले पार्टीको मुख्य जिम्मेवारीमा समेत पुगिसकेका छन्, उनीहरू यस पटक आक्रामकभन्दा बढी समाधानमुखी र नीतिगत अभिव्यक्तिका साथ प्रस्तुत भएका छन् । उनीहरूको प्रस्तुतिमा देखिएको यो परिपक्वता प्रशंसनीय छ र यसले लोकतान्त्रिक संस्कारलाई बलियो बनाउन मद्दत गर्छ ।

अन्य कतिपय दल र विशेष गरी ‘नयाँ’ र ‘वैकल्पिक’ दाबी गर्ने शक्तिको हकमा भने यो स्तरको परिपक्वता पाइएको छैन । नयाँ दलहरूले जनताका जल्ल्दाबल्दा समस्याको समाधानमुखी विकल्प दिनुभन्दा बढी अरूको आलोचना गर्ने, गालीगलौजमा उत्रने र अरूलाई ‘देखाइदिने’ चेतावनीको भाषा बोलेको सुनिन्छ । राजनीतिमा आलोचना आवश्यक छ तर त्यो तथ्यपरक र मर्यादित हुनु पर्छ ।

‘हिजोका चुनावमा मासुभात खाएर भोट दिइयो’ भन्ने भाष्य निर्माण गर्दै दशकौँदेखि मताधिकार प्रयोग गर्दै आएका पुराना र परिपक्व मतदाताको विवेकमाथि अपमान गर्नेदेखि लिएर ‘अब फलानोलाई सडकमा सुताएर काममा लगाउने’ जस्ता अराजक, उत्तेजित र गैरजिम्मेवार अभिव्यक्ति दिनेमा नयाँ भनिने शक्ति अग्रपङ्क्तिमा देखिनु विडम्बना हो । लोकतन्त्रमा समाधानको सूत्र नीति हो, विधि हो र प्रणाली हो; धम्की वा भिडको बलमा देश बदल्ने कुरा गर्नु कुनै पनि जिम्मेवार राजनीतिकर्मीलाई शोभा दिँदैन ।

अझ गम्भीर विषय त मतदातालाई हेर्ने दृष्टिकोणमा देखिएको विरोधाभास हो । केही नयाँ अनुहारले मञ्चबाटै खुला रूपमा आह्वान गरिरहेका छन्– ‘अरूको मासुभात खाइदिनुस्, भोट मलाई दिनुस्’, ‘अरूको पैसा खाइदिनुस्, भोट मलाई दिनुस्’, वा ‘पार्टी फेर्नु पर्दैन, भोट मलाई दिनुस्’ । सतहमा हेर्दा यी अभिव्यक्ति चतुर चुनावी रणनीति जस्तो लाग्न सक्छन् तर यसको अन्तर्य घातक छ । यस्ता भाष्य स्थापित गर्दा नेतृत्वले मतदातालाई सभ्य, विवेकशील र स्वाभिमानी नागरिक बन्न अपिल गरिरहेको छ कि उनीहरूलाई केवल प्रलोभनमा पर्ने ‘लालची’ भिडका रूपमा चित्रण गरेर अपमान गरिरहेको छ ? यस्तो न्यूनतम नैतिक हेक्का पनि नेतृत्वले राख्न सकेको देखिएन । मतदातालाई अनैतिक लाभ लिन प्रेरित गर्दै आफूलाई नैतिकवान् साबित गर्ने प्रयास आफैँमा विरोधाभासपूर्ण छ ।

‘बिहानीले दिनको सङ्केत गर्छ’ भन्ने उखान राजनीतिमा पनि उत्तिकै सान्दर्भिक छ । चुनावअघिको यो समयमा जसरी आक्रोश, कुण्ठा, र अरूको अस्तित्व स्वीकार नै गर्न तयार नहुने प्रवृत्ति हाबी भएको छ, त्यसले भविष्यको सुखद सङ्केत गर्दैन । ‘तिमीहरू सबै खराब हौ, म मात्र ठिक हुँ,’ ‘म नै अन्तिम विकल्प हुँ’ भन्ने दम्भको जसरी प्रचार भइरहेको छ, र दुःखद पक्ष– त्यस्तै प्रवृत्तिको वाहवाही भइरहेको अवस्था छ, यसले चुनावपछि पनि नेपालको राजनीतिले शालीन र सहिष्णु अभ्यास गर्छ भनेर विश्वास गर्न सकिने आधारलाई कमजोर बनाएको छ ।

यहाँनेर नेतृत्वको परीक्षण हुन्छ । नेतृत्वको दायित्व के हो ? क्षणिक आवेगमा आएको हुलको वाहवाहीको अपेक्षा गर्ने र त्यसैमा रमाउने कि त्यो ऊर्जाशील हुललाई विवेकपूर्ण र सभ्य समाज निर्माणतर्फ डो¥याउने ? यी दुई अहम् विषयमा अझै पनि हाम्रो राजनीतिक नेतृत्व, विशेषतः नयाँ दाबी गर्ने नेतृत्व, ठुलो अलमलमा छ भन्न सकिने अवस्था छ । भिडको पछि लाग्नु नेतृत्व होइन, भिडलाई सही दिशा देखाउनु नै असल नेतृत्वको क्षमता हो ।

दलहरू सच्चिने सबैभन्दा उपयुक्त समय भनेकै निर्वाचनको क्षण हो । यो बेला दलहरू जनताको अदालतमा उभिएका हुन्छन् । मतदाताले दललाई उनीका विगतका कामकारबाही र भविष्यका योजनामाथि निरन्तर प्रश्न सोधेर सच्चिनका लागि दबाब दिनुपर्ने हो । नीतिगत स्पष्टता खोज्नुपर्ने हो तर व्यवहारमा त्यसो हुन सकिरहेको छैन । बरु, उत्तेजक अभिव्यक्ति, गालीगलौज र स्टन्टबाजीमा ताली बजाउने र थपडी मारेर बस्ने जमात ठुलो देखियो, जुन नेपाली लोकतन्त्रको भविष्यका लागि दुर्भाग्यपूर्ण सङ्केत हो ।

पछिल्लो समय नागरिकस्तरमा, खास गरी युवापुस्तामा देखिएको ऊर्जा (जसलाई जेनजी आन्दोलनको विम्बमा पनि हेरियो) आफैँमा सकारात्मक पक्ष हो । त्यो ऊर्जासँगै आएको आक्रोश र उत्तेजनालाई निर्वाचनको माध्यमबाट व्यवस्थापन गर्दै परिपक्व राजनीतिक शक्तिमा रूपान्तरण गर्नुपर्ने आजको आवश्यकता हो । आमलोकतन्त्रवादीको अपेक्षा पनि त्यही हो । त्यो रचनात्मक उत्तेजनालाई सही दिशा दिनुको साटो त्यसलाई भड्काएर निरन्तरता दिने र राजनीतिक परिपक्वतासँग तर्सने प्रवृत्ति हाबी भइरहेको प्रतीत हुन्छ ।

समय अझै घर्किसकेको छैन । निर्वाचनको दिनसम्म मतदातासँग विवेक प्रयोग गर्ने अवसर रहन्छ । मतदाताले अब उम्मेदवारको अनुहार वा चर्को भाषण मात्र होइन, उसको राजनीतिक संस्कार, नीतिगत स्पष्टता र परिपक्वताको खोजी गर्नु पर्छ । राजनीतिभित्रको असङ्गतिलाई न्यून गर्दै लैजाने ढङ्गले मतदाता प्रस्तुत हुन सक्ने हो भने मात्र नेपालको राजनीतिलाई सम्मानित बनाउन सकिन्छ । नेतृत्वलाई जिम्मेवार र जवाफदेही बनाउन अनि ‘राजनीति भनेको केवल सत्ताको खेल होइन, यो त विचारको जगमा उभिएर गरिने समाज सेवाको उच्चतम अभ्यास हो’ भन्ने स्थापित गर्न सहज हुने छ । उत्तेजनाको व्यापारले क्षणिक लाभ देला तर देशलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ बनाउन संयम, विवेक र परिपक्वताकै खाँचो पर्छ ।