• १४ असार २०८१, शुक्रबार

रेसुङ्गा क्याम्पसको नयाँ संरचना निर्माण हुने

blog

गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस । तस्बिर – रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, साउन ३ गते । गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो । 

०७२ मा गएको भूकम्प र त्यसपछि आएका पराकम्पले क्याम्पसको प्रशासनिक भवन र प्राध्यापक निवासको क्षति भएको विवरण क्याम्पसले तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पेश गरेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यसैका आधारमा अहिले शिक्षा मन्त्रालयले भारतको एक्जिम बैंकसँग रकमको सम्झौता गरी विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लागि भूकम्पपछिको पुनःनिर्माणको लागि रेसुंगा बहुमुखी क्याम्पसलाई बजेट प्राप्त भएको हो । सोही कार्यक्रम अन्तर्गत रेसुङ्गा बहुमुखी क्याम्पसमा पनि १५ करोड बराबरको भौतिक संरचना निर्माण गर्न लागिएको क्याम्पस प्रमुख खत्रीले बताउनुभयो । 

क्याम्पसका लागि आवश्यक रहेको छात्रावास (महिला तथा पुरुष), सभाहल (कभर्डहल), पार्क गार्डेन, ल्याण्डस्केप/स्वीमिङ पुल, बाउण्डरीवाल, गेट र पालेघर, भिजिटिङ गेष्टलगायतका महत्वपूर्ण नयाँ भैतिक संरचना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

संरचना निर्माणको लागि क्याम्पसमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, वडा नम्बर १ का अध्यक्ष रामप्रसाद पन्थी, क्याम्पसको सञ्चालक समिति, प्रशासन लगायतका सरोकारवालाहरुसँग काठमाडाैँबाट आउनुभएका इन्जिनियरहरुले छलफल गर्नुभएको थियो । छलफलमा दुईवटा आर्किटेक एवम् एक÷एक जना सिभिल र निर्माणसँग सम्बन्धित इन्जिनियर सहभागी हुनुभएको थियो । 

क्याम्पस प्रशासनले एक सय जना अट्ने होस्टलसहितको भवन, शैक्षिक एवम् लाइब्रेरी भवन, खेलकुद मैदान, कभर्ड हललगायतका संरचना बनाउने गरी धारणा राखेको थियो । अहिले गरिएको छलफलको आधारमा इन्जिनियरहरुले कम्तिमा छ महिनाभित्र डिजाइन र इस्टिमेटसहितको रिपोर्ट पेश गर्नेछन् । त्यसपछि डिपिआर तयार निर्माणको काम सुरु हुने क्याम्पस प्रमुख खत्रीले बताउनुभयो ।