• २८ वैशाख २०८१, शुक्रबार

मेरै छायाँको विद्रोह र अस्वीकृत ग्रहण

blog

यो रङ्गमय संसारमा, आकाङ्क्षाका अनेकन रङ्गहरूको भीडमा म किन रङ्गीन हुन सक्तिनँ ! ‘मेरो रङ्ग मात्र कालो किन !’ भन्दै मेरो छायाँ मसँग विद्रोह गरिरहेछ ।

ऊ भन्दै छ–

तिम्रो उचाइसँग मेरो कुनै सरोकार छैन !

म तिम्रो उचाइको सापेक्षमा बाँधिन चाहन्नँ !

तिमी एकै स्थानमा स्थिर उभिरहू; म भने आफ्नो आकार बदलिरहन्छु, बाटो बदलिरहन्छु ।

उज्यालो मेरो आत्मा हो यसैले उज्यालो रहुन्जेल, जीवन रहुन्जेल जरुर तिमीभन्दा म अधिक जीवन्त छु ।

उज्यालो मेरो अस्तित्वकारक हो, र– पनि तिमीलाई उज्यालो दिएर अँध्यारो बाँच्ने म लड्नु–उठ्नुसँगै आरोह–अवरोहको कुनै परवाह नगरी सङ्घर्षको कहानीमा निरन्तर आफ्नो गति बगिरहेछु ।

म आपूmमा कहिल्यै अवरुद्ध छैन ... ।

ऊ आफ्नो अध्याय बदल्दछ–

आज म तिमीबाट मुक्त भएर रङ्गीन हुन चाहन्छु ।

म इन्द्रेणीको सिँढीबाट झरनामय निर्झर झर्न चाहन्छु, नृत्यमग्न हुन चाहन्छु, सङ्गीतमग्न हुन चाहन्छु, अन्त्यहीन चित्रमय सुरुवात गर्न चाहन्छु ।

मेरो जीवनको सङ्गीत, भावभङ्गीमा एवम् रङ्ग बदलिएको तिमी टाढैबाट महसुस गर्नेछौ ।

यो मेरो आफ्नै प्रवाह हुने छ, मेरो आफ्नै शैली हुने छ, आफ्नै पहिचान हुने छ ।


विगत अँध्यारोमा निर्वासित मप्रति मेरै छायाँको विद्रोह निक्खरमा मेरो कालो इतिहासको अँध्यारोप्रतिको विद्रोह थियो, उपहास थियो; जतिखेर छायाँले आफ्नो अस्तित्व नै गुमाउँदछ । त्यो कालो इतिहासको दर्द विसर्जन गर्ने निकासका मेरा शब्दहरू यतिखेर मौन छन्; जसरी विश्वइतिहासमा हिटलरको कालो अध्यायको दर्द, पीडा र पश्चात्ताप जर्मनी नवयुवाहरू तिनै पीडाको ह्याङओभरमा आज पनि शब्दमा उतार्न सक्दैनन् । 

हो, उनीहरू यातनाशिविरको नाजी अत्याचारयुक्त दुःख, दर्द, घाउ, उकुसमुकुस आज पनि महसुस गर्छन्, आहतहरूको चित्कार सुन्छन्, दुःखित हुन्छन् र इतिहासको त्यो कलङ्क बिर्सन चाहन्छन् । तर अफसोस ! मान्छे इतिहासमुक्त छैन । 

चेतनाका नाममा मान्छे इतिहास लिएरै जन्मन्छ, इतिहास छोडेरै मृत्यु वरण गर्छ । यसैले इतिहासहीन भएर होइन, इतिहासका साथमै इतिहासका तिनै अँध्यारा अध्यायहरूसँगको विद्रोह र विनिर्माण नै सभ्यताको एक उचाइ गर्व हो । 

यथार्थतः दुःखबाट भागेर दुःखबाट केवल भ्रमको मुक्ति मिल्दछ । यसैले दुःखबाट भागेर होइन, दुःखहीन भएर होइन; दुःखका साथ दुःखसँग लडेर नै दुःखबाट मिल्ने सचेत मुक्तिमा म सहभावको सुरिलो धुन रच्न चाहन्छु । इतिहासलाई छोपेर होइन, दर्दभरि नै किन नहोस् ! आफ्नै इतिहासको पृष्ठभूमिमा उभिएर इतिहासको कालो पाना नदोहरिने गरी नयाँ इतिहास निर्माण गर्न चाहन्छु ।

जसरी एक धावक प्रथमतः आफ्नै इतिहासको सापेक्षमा पुरानो सीमा मेटेर होइन; पुरानो सीमा पार गरेर नयाँ सीमा कायम गर्दै आफ्नो बेग्लो इतिहास रच्दछ र अन्यहरूको सापेक्षमा आफ्नो सत्प्रयास जारी नै राख्दछ । यसैले सभ्यतामा इतिहासको आफ्नै स्पेस रहन्छ ।

हुन पनि इतिहास तिरस्कार गर्नेहरू समयको अन्तरालमा इतिहासबाटै स्वयम् तिरस्कृत हुने छन् । इतिहास साक्षी छ, अफगानी भूमिमा तिरस्कार स्वरूप चोइट्याइएका, भत्काइएका बुद्धका विरूप मूर्तिहरूको भग्नावशेष कति टिठलाग्दो लागिरहेछ ! आँसु–आँसु भएर संसारकै गह भरिएको छ । अब ती मूर्तिहरू पुनः जोड्न खोज्दा उही इतिहासको मूर्ति बन्ने छैन । चर्केको ऐना जोडेर आफ्नो सग्लो अनुहार हेर्न खोज्नु जस्तै हुनेछन् ती यथार्थहरू । 

यथार्थतः हामी हाम्रै जन्म–मृत्युको हैरानीमा आफ्नै उमेर, अस्तित्व, सभ्यता, संस्कृति आदिद्वारा सीमाबद्ध छौँ । टाढा किन सोच्नु प¥यो र ! हाम्रै बुद्धभूमिको सीमाउत्तरमा सांस्कृतिक क्रान्तिका नाममा गुम्बा र चैत्यहरू भत्काएर आस्था भत्काउन नसकिएको यथार्थ आज पुनःनिर्मित आस्थाका तिनै गुम्बा र चैत्यहरू मौन बोलिरहेछन् अनि आफ्नो आस्थाका धरोहरहरू भत्काउँदै हिँडेको बेगवान् हुरीको बेला जमिनभित्र सुरुङ खनेर भए नि आफ्नो आस्था साँचिराखेको उत्खनन सत्यले पनि तिनै आस्थालाई मूर्त साबित गरिरहेछन् ।

निश्चय नै संसार एकरङ्गी छैन । आफ्नो आस्थाको रङ्ग आफ्नो लागि प्रिय भए पनि सबैका लागि त्यो नहुन सक्छ । यसैले आस्थाका बहुल रङ्गहरूद्वारा निर्मित क्यानभासजस्तो यो संसारको एक रङ्ग मात्र पनि उजाडिएको हेर्न कुनै पनि विवेकी चेतनालाई मन्जुर छैन । 

सायद प्रतिध्वनियुक्त यस संसारमा कुनै पनि आस्था र आवाजको सम्पूर्णतः अन्त्य हुन सक्दैन । कहीँ न कहीँ समय इतिहासबद्ध हुनु नै छ ।

इतिहास त समय हो, बगिरहन्छ; स्मृति हो, तरङ्गिन्छ र तरङ्गित लहर बार–बार मान्छेको चेतनालाई स्पर्श गरेर जान्छ । यसरी इतिहासद्वारा छोइन्छ मान्छे, झङ्कृत हुन्छ र सङ्गीतमय बन्दछ । नत्र त आठै प्रहर लहरको स्पर्शित नियति पाएको मूकदर्शक बगर र मान्छेमा के भिन्नता रहन्थ्यो र !

आज पनि टुँडिखेलमा कैद जङ्गबहादुरको घोडा र जङ्गबहादुरहरूलाई निर्वैयक्तिक नेपाली पीडाको सङ्केतमा सहिदगेटमा उभिएर दर्शक आँखाले नियाल्नु र नेपाली पीडाको हेक्का राख्दै नौलो गन्तव्य तय गर्नु मेरो दिनचर्या नै बनेको छ । 

लाग्छ, इतिहासको कालो पाटा अस्वीकृत दृष्टिले ग्रहण गरिने चेत यथार्थतः उच्च मानवीय चेतनाको सम्यक् विद्रोह हो । सभ्यताको उपसंहारमुखी यात्रा हो तर त्यो पनि अन्त्य भने होइन । फेरि भनिएको अन्त्य आपैmँमा एक प्रारम्भ पनि हो ।

मेरो चेतनाकै सर्वश्री सम्बोधन, ओ प्रिय छायाँ ! छुट्टी मनाउन गएको मेरो मायावी वैँश तिम्रो अनुरोधमा पनि फर्कने छैन । यी र यस्तै जीवनका भव्य सुस्केराहरूमाझ अनुभूतिको समयान्तरमा सबभन्दा बढी प्रतिस्पर्धा आफैँसित गर्दै मेरा हर कथन अनि हर अभिव्यक्तिहरूको टकराब अनि कुनै ग्राहकले किन्न नसकेको मेरै चेतनाको मन्थनबाट तत्क्षण म यसै निष्कर्षित छु, विरेचित छु । यसैले मसँगको तिम्रो विद्रोह यतिखेर म सहर्ष स्वीकार गरिरहेछु तर मैले चाहेर पनि तिमी स्वयम् मबाट सम्पूर्ण मुक्त हुन सक्ने छैनौ । 

फेरि रङ्गीन बन्ने सपना देख्नु तिम्रो भूल त होइन नै; बरु उचाइउन्मुख यात्राभरि पूmलको सङ्गीतमय लयबद्ध बेगवान् आँधीसरि हो, तिम्रो विद्रोह ! जतिखेर पूmलहरू स्वयम् भुइँभरि असरल्ल हुन्छन्, जितभन्दा बढी हारहरू नै लिपिबद्ध हुन्छन् । र–पनि म रहेसम्म नै तिमी अस्तित्वरत हुनेछौ । 

यसर्थ वसन्तको सुन्दर आँधीबेहरीजस्तो या भनौँ, प्रेमको प्रेमिल तर पीडादायी झङ्कृतिजस्तो तिम्रो विद्रोहको सम्मान गर्दै तिम्रो आस्थाको पूmल मबाट अस्वीकृत भए पनि बाना नै सही बगैँचाको सगोल सुन्दर अस्तित्वका लागि नै भनौँ म तिमीलाई पनि अस्वीकृत दृष्टिले ग्रहण गर्न चाहन्छु । यद्यपि तिम्रो–मेरो पहिचान बेग्लो हुनेछ । 

फेरि पनि आ–आफ्ना आत्मकेन्द्री सपनाहरू भने साथै देख्ने छौँ । आआफ्ना कमजोरीको आत्मालोचना गर्दै उद्घाटित दुर्घटनाहरूको निष्कर्ष आगामी जिन्दगीमा उपलब्धि बुझ्ने छौँ । तिम्रो नयाँ रङ्ग–भाव–भङ्गीमा, नयाँ प्रवाह र शैलीको कामनामा म सदा साथै रहने छु । 

अस्वीकृत साथ पीडा जरुर हो तर यो पनि त सत्य हो कि हाम्रो आकाश–धर्ती एउटै छ । मेरो हिमाल पग्लेर बगेको पानी केवल मेरो भनेर मुट्ठीभर कैद गर्न सक्तिनँ, प्रकृति सेवक जीवनदायी प्राणवायुलाई म केवल मेरो भनेर सीमाबद्ध गर्न सक्तिनँ र चन्द्रसूर्यका किरणहरूलाई केवल आफ्नो भनेर छेक्न सक्तिनँ । यी सम्पूर्णहरूको सिङ्गो आस्तित्विक विशेषण हो– प्रकृति ! र प्रकृतिको विशिष्ट सिर्जना मान्छेका लागि प्रकृतिजस्तै रहस्यमय सुन्दर कविताहरू नै सर्वोत्कृष्ट मेडिटेसन हुने छन् । 

यात्रामा कदाचित उल्लेख्य धर्मबाट विचलित भए नि अन्ततः प्रकृतिसँगको सहयात्रामा नै मानव सभ्यताले दीर्घजीवन प्राप्त गर्न सक्ने दाबीको पूmलझुप्पा म, आज मानव मस्तिष्कीय फ्लावरभ्यासको पिनमा गढेर जमिदिएको छु । दुख्नुको यथार्थ मेरो निजी सत्य हो, केवल दुख्नुको महसुस आफ्नो भागमा राखेर मुस्कानको वचन भने तिम्रो पक्षमा दिएको छु ।

यसलाई यसरी बुझे पनि हुन्छ– तिम्रो समाप्ति भन्नु नै तत्क्षण मेरो उज्यालो अस्तित्वको विघटन पनि त हो नि !

कति कति मेरा आस्थाका सुन्दरतम आवाजहरू शून्यसँग टकराएर मसँगै फर्केको क्षतविक्षत एक साँझ एक भलादमी आफ्नो मृत्युअघि केही भन्न खोजिरहेथ्यो तर त्यसलाई कसैले सुनेनन् । म संवेदित छु । यसैले यो क्षण बाँकी केही भन्नुभन्दा बढी मेरै विद्रोही छायाँकै किन नहोस् ! एक समर्थवान् शालीन सच्चा आवाज सुन्न चाहन्छु; जसलाई म आपैmँमा सप्रेम समाहित गरेर अनन्त मौनतामा एकाकार हुन सकूँ; जो मेरा नाममा मेरो मृत्युपछिको भयानक शून्यसँग निरर्थक टकराउने छैन !... !!...!!! 

(‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’बाट)