• २८ वैशाख २०८१, शुक्रबार

कारागारको प्रशासनिक भवन तयार

blog

बनेपा, साउन ३ गते । पाँच महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको जिल्ला कारागार कार्यालय काभ्रेको प्रशासनिक भवन १७ महिनापछि निर्माण सम्पन्न भएको छ । दुईतले प्रशासनिक भवनको सोमबार काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गर्नुभएको हो । 

भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले कारागारको नयाँ भवन निर्माण भएसँगै कारागारको सेवा प्रवाह सहज हुने बताउनुभयो । उहाँले भवन नबन्दा सानो जस्ताको अस्थायी भवनबाट सेवा प्रवाह गर्नुपर्दा प्रशासनिक झन्झटलगायतका समस्या देखिएको बताउँदै नयाँ भवनबाट सेवा प्रवाह गर्न सहज, सरल र छिटो हुने बताउनुभयो । 

जिल्ला कारागार प्रमुख जेलर गायत्री अधिकारीले ठेकेदार कम्पनीले पाँच महिनामा भवन निर्माण सम्पन्न गर्ने सम्झौताका साथ काम सुरु गरे पनि कोरोना सङ्क्रमण र ठेकेदारको लापरबाहीका कारण भवन बन्न ढिलाइ भएको बताउनुभयो । उहाँले आवाससहितको कार्यालयको साढे दुईतले भवन निर्माण हुनुपर्ने भए पनि ठेकेदारले समयमा काम नगर्दा हाललाई दुई तला मात्रै निर्माण गरी कार्यालयको सेवा सुरु गर्नु परेको स्पष्ट पार्नुभयो ।

कार्यालयको प्रशासनिक भवन निर्माण कम्पनीले ५६ लाख ७४ हजार ४२३ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । समयमै भवन निर्माणको काम सम्पन्न नगरेपछि कामको मूल्याङ्कनका आधारमा ठेकेदार कम्पनीलाई ५४ लाख ३८ हजार रुपियाँ भुक्तानी दिइएको जेलर अधिकारीले बताउनुभयो । उहाँले विभागले भवनको बाँकी काम पूरा गर्न यस वर्ष कुनै बजेट विनियोजन नगरिएकाले भवनको काम बाँकी रहेको जानकारी दिनुभयो ।

सोमबारदेखि नै नयाँ भवनबाट सेवा प्रवाह गर्न थालिएको छ । भवन नहुँदा तीनवटा कोठाबाट कार्यालयका सबै काम सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोमा अब नयाँ भवन भएपछि कार्यालयका अभिलेखसमेत सुरक्षित हुने जेलर अधिकारीले बताउनुभयो ।