• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रिय उत्पादन बढाउन जोड

blog

काठमाडौँ, साउन २ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले  उद्योग व्यवसायको प्रवद्र्धन गरी राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । आइतबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बडूले समग्र औद्योगिक क्षेत्र विस्तार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभएको हो । यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न अत्यावश्यक रहेको उहाँको भनाइ छ । 

बजेटको ठूलो हिस्सा आयातमा खर्च भएकाले आयात प्रतिस्थापन गर्न स्वदेशी वस्तुको उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिँदै उहाँले सरकारले बजेट तथा नीति कार्यक्रममार्फत राष्ट्रिय उत्पादन बढाई स्वदेशी वस्तुको उपभोग गर्न जोड दिएकाले सोहीअनुसार उद्योगी व्यवसायी लाग्नुपर्ने बताउनुभयो । 

“उद्योग व्यवसाय प्रवद्र्धन गर्न छुट, निर्यातमा अनुदान वृद्धि गरेका छौँ, औद्योगिक व्यवसाय प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ,” मन्त्री बडूले भन्नुभयो । निर्यात प्रवद्र्धन गर्न स्वदेशी उत्पादन निर्यातमा आठ प्रतिशत नगद अनुदानसँगै अन्य सुविधा उपलब्ध गराउनुका साथै बन्द रहेका उद्योग सञ्चालन गर्न लागिएको मन्त्री बडूले जानकारी दिनुभयो । 

“औद्योगिक व्यवस्थापन लिमिटेडको उद्देश्य उद्योग व्यवसाय व्यवस्थापन गर्नु हो, सरकारले पूर्वाधार तयार गर्ने, उद्योगीले लगानी गरेर उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ,” मन्त्री बडूले भन्नुभयो । यस कार्यमा सरकारले सहजीकरण गर्ने उहाँले बताउनुभयो । 

सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने काम भइरहेको र प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । विदेशी लगानी भिœयाएर उद्योग सञ्चालन गरी निर्यात बढाउन सकिने पर्याप्त सम्भावना रहेकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा मन्त्री बडूले जोड दिनुभयो ।