मुसीकोट समाचारदाता
रुकुमपश्चिम, फागुन ५ गते । रुकुमपश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी १२ दलमध्ये दुई दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्र दुई दलले मात्र घोषणापत्र बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र थापामगरले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले मात्र घोषणापत्र बुझाएको जानकारी दिनुभयो । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन गरेको थियो ।
यसै गरी उम्मेदवारी दिएकामध्ये छ दलका उम्मेदवारले मात्र चुनावी खाता खोलेका छन् । मुख्य निर्वाचन अधिकृत मगरका अनुसार राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, आमजनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीले निर्वाचन प्रयोजनका लागि खाता खोलेका छन् । उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (संयुक्त), नेकपा (माओवादी) र नेकपा (एमाले) ले बैङ्क खाता खोलेको जानकारी दिएका छैनन् । विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधि सहभागी बैठकमा मुख्य निर्वाचन अधिकृत मगरले निर्वाचन आचारसंहिताको उल्लङ्घन भएमा जरिबाना तथा उम्मेदवारी रद्दसम्मको व्यवस्था रहेको स्मरण गराउनुभयो । उहाँले हालसम्म आचारसंहिता उल्लङ्घनबारे कुनै पनि लिखित उजुरी नपरेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले हालसम्म सौहार्दपूर्वक चुनावी कार्यक्रम भइरहेको र आगामी दिनमा पनि सबै उम्मेदवार तथा राजनीतिक दलबाट आचारसंहिता पालनामा प्रतिबद्धता प्राप्त भएको जनाउनुभयो । चुनावलक्षित सुरक्षा व्यवस्था र मतदान केन्द्रको अनुगमनबारे जानकारी गराउँदै प्रजिअ थानीले उदाहरणीय निर्वाचनको सन्देश दिन सबैको सहकार्य र सौहाद्र्रता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले चुनावी कार्यक्रमको जानकारी स्थानीय प्रशासनलाई दिन र केही गुनासा तथा समस्या भएमा बेलैमा जानकारी गराउन अनुरोध गर्नुभयो ।
निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकमा कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत गोविन्दप्रसाद सुवेदीले आयोगले निर्वाचन खर्चलाई व्यवस्थित, पारदर्शी र अनुशासित बनाउन बैङ्क खाता खोल्ने प्रावधान ल्याएकाले सबै दल तथा उम्मेदवारले पालना गर्न अनुरोध गर्नुभयो । उहाँले निर्वाचन कार्यालयको सिफारिसका आधारमा उम्मेदवार र उहाँका प्रतिनिधिले पनि चुनावी प्रयोजनका लागि खाता खोल्न सक्ने जानकारी दिनुभयो । निर्वाचनका लागि प्राप्त गर्ने र खर्च गर्ने रकमको प्रयोजनका लागि खाता खोल्नुपर्ने र सोही अनुसारको विवरण निर्वाचनपश्चात् पनि आयोगलाई बुझाउनुपर्ने उहाँले जनाउनुभयो । बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पालनामा प्रतिबद्धतासमेत जनाएका छन् । निर्वाचनलाई सौहाद्र्रपूर्ण, स्वच्छ र पारदर्शी बनाउन आचारसंहिताबमोजिम नै चुनावी गतिविधि भइरहेको उनीहरूले जानकारी गराएका छन् ।