• २ असार २०८१, आइतबार

‘सबै बस्तीमा बिजुली पु-याउँछौँ’

blog

सिन्धुलीमाढी, साउन २ गते । सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये हरिहरपुरगढी गाउँपालिका विकासका दृष्टिले पछाडि परेको पालिका हो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बज्रध्वज वाइवाले अबको पाँच वर्षभित्रमा पालिकाका सबै बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पु-याउने आफ्नो योजना रहेको बताउनुभएको छ ।

पालिकामा विश्व बैङ्कको सहयोगमा विद्युतीकरण कार्य भई केही बस्तीमा मात्रै बिजुली बत्ती बलेको भए पनि पालिकाका आठवटै वडाका सबै बस्तीमा बिजुलीको पहुँच विस्तार गर्ने आफ्नो पहिलो योजना रहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “निर्वाचनको बेला जनतासँग भोट माग्ने क्रममा घोषणापत्रमा उल्लेख गरेका धेरै कुरा छन् ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्रका विद्यालयलाई आवासीय बनाई नमुना बनाउने, शिक्षामा विकास, मदनभण्डारी राजमार्गले नछोएका आठवटै वडाका शाखा सडकको स्तरोन्नति गरी दिगोपना गर्ने, कृषिमा आधुनिकीकरण गर्दै ‘एक घर, एक रोजगार’ सिर्जना गर्नेलगायतका योजना छन् ।”

अबको आफ्नो योजना पनि घोषणापत्रका प्रतिबद्धतालाई क्रमशः कार्यान्वयन गर्दै जाने रहेको गाउँपालिका अध्यक्ष वाइवाले जानकारी दिनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य र सडकलगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै गाउँपालिकाको आम्दानीको स्रोत बढाउन पर्यटन भित्र्याउन नयाँ काम गर्ने बताउनुभयो ।

पर्यटन भित्र्याउन लक्ष्यले हरिहरपुरगढी दरबार मर्मतका लागि यो वर्ष गाउँपालिकाले ३१ लाख रुपियाँ बजेट छुट्याएको छ । पहिले मदन भण्डारी राजमार्गबाट हरिहरपुरगढीसम्म पुग्ने सडक निर्माणलाई दिगोपना दिइनेछ । हरिहरपुरगढी दरबार मर्मत गर्न पहिले पनि केही काम भएको थियो, त्यो काम पर्याप्त भएको छैन । पालिकाभित्र विभिन्न मठमन्दिर र गुम्बा निर्माण गरिने भएको छ ।

क्यानेश्वरमा मानव निर्मित ताल निर्माण गर्ने, पर्यटन भित्र्याउन ठाउँ–ठाउँमा होमस्टे निर्माण गर्ने योजना पनि रहेको उहाँले सुनाउनुभयो । गाउँपालिका अध्यक्ष वाइवाका अनुसार पालिकाबाट अहिले पनि ठूलो सङ्ख्यामा युवा रोजगारीको खोजीमा विदेश गइरहेकोले उनीहरूलाई गाउँमै रोक्ने योजना पालिकाको छ । त्यसका लागि कृषिमा आधुनिकीकरण गर्दै लैजाने र एक घर, एक रोजगार अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

भोट माग्ने बेलामा घरदैलो गर्दा नागरिकको अपेक्षा आफूले धेरै पाएको चर्चा गर्दै उनीहरूको अपेक्षालाई सम्बोधन हुने गरी आफूहरूले काम गर्ने उहाँको भनाइ छ । कृषि तथा पशुपालन पेसालाई दिगो र भरपर्दो बनाउन कृषि पेसालाई व्यावसायिक र उत्पादनमुखी बनाउने योजना रहेको उहाँले बताउनुभयो ।