• २ असार २०८१, आइतबार

चारपालामा सब–स्टेसन बन्दै

blog

नवलपरासी, साउन २ गते । पश्चिम नवलपरासी सुनवलको चारपालामा १३२ केभी सबस्टेशन निर्माण भइरहेको छ । पछिल्ला केही वर्षयता नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा ठूला उद्योगहरू लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगसहित अन्य साना तथा मझौला उद्योग स्थापना हुने क्रम बढेको छ । उद्योग स्थापनासँगै विद्युत् माग बढ्दै गएकाले सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन स्थापना गर्न लागिएको सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो ।

२०७५ साल पुसदेखि निर्माणको प्रक्रियामा रहेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाको निर्माण कार्य २०७९ असारमा सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारीलगायतका कारणले समयमा निर्माण सम्पन्न हुन् नसकेको र आगामी असोजसम्ममा सम्पन्न हुने आयोजना प्रमुख गौतमले बताउनुभयो । यो आयोजनाको ७९ प्रतिशत काम भइसकेको बताइएको छ । 

नेपाल सरकारको ५२ करोड रुपियाँको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणपछि सुनवलको पश्चिमी क्षेत्र, देवदह क्षेत्र, दक्षिणमा रामग्राम पश्चिमी क्षेत्रदेखि रुपन्देहीको आमसतिया गाउँपालिकासम्मको क्षेत्रमा भरपर्दाे विद्युत् प्रवाह हुनेछ ।