• ७ जेठ २०८१, सोमबार

सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

blog

पशुपतिनगर, साउन २ गते । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो । सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विगतका वर्षदेखि नै काम गर्दै आएको छ । सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने र अङ्ग्रेजी माध्यमको पठनपाठनलाई विशेष ध्यान दिएपछि सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या पनि बढ्न थालेको छ । 

चालू आर्थिक वर्षमा नगरको बजेटको २५ प्रतिशत अर्थात् ३५ करोड रकम विनियोजन गरेको नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउनका लागि प्राविधिक सामग्री हस्तान्तरण गर्न थालेको छ । धुलोरहित र प्रविधिमा विद्यालयलाई जोड्नका लागि नगरले सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर ई–प्यानल बोर्डलगायतका सामग्री हस्तान्तरण गरेको छ ।  

नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक विद्यालयमा एक-एक थान कम्प्युटर र एक-एक थान प्रिन्टर, चारवटा विद्यालयमा प्रयोगशाला ल्याब सामग्री, दुईवटा विद्यालयमा गणित प्रयोगशाला सामग्री हस्तान्तरण गरेको छ । नगरले कक्षा १–५ मा ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भए पाँच हजार विद्यार्थीलाई उक्त पुस्तक वितरण गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो ।

नगरले ९० लाख रुपियाँ बराबरका सामग्री वितरण गरिएको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगरमा ६६ वटा सामुदायिक विद्यालय छन् । ६१ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएको शिक्षा शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी भर्ना दर बढ्दै गएको शाखाले जानकारी दिएको छ । गत वर्ष ५७ प्रतिशत विद्यार्थी भर्ना भएकोमा यो वर्ष बढेर ६० प्रतिशत पुगेको छ । 

सूर्योदय नगर क्षेत्रका सामुदायिक विद्यालयमा यसअघिदेखि नै कम्प्युटर कक्षा सञ्चालनका लागि कम्प्युटर ल्याब निर्माण, इन्टरनेट जडान, विद्युतीकरण, ई–प्यानल बोर्ड जडान गरिँदै आएको छ । नगरले नयाँ अभियानका रूपमा ‘गणितसँग खेलौँ गणितीय धारणा बनाऔँ’ अभियान सञ्चालन गरी गणित अभ्यास पुस्तिका वितरण गर्दै आएको छ । नगरले बर्सेनि गणित र विज्ञान प्रदर्शनीजस्ता कार्यक्रमसमेत गर्दै आएको छ ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईका अनुसार नगरले सामुदायिक विद्यालयको गुणस्तर सुधार भए नभएको मापन गर्नका लागि यस वर्षबाट तेस्रो पक्षीय विज्ञको टोलीबाट विद्यालयमा पठाउने तयारी गरेको छ । “आईसीटीको प्रयोग बालबालिकालाई प्रविधिमैत्री बनाउनुपर्छ । प्राविधिक शिक्षामा जोड दिएर गुणस्तरमा सुधार ल्याउनु पर्छ,” उहाँले भन्नुभयो । उहाँले नगरले पेपरलेस (कागजरहित) अभियानसमेत थालेकाले आगामी दिनमा नगरका कुनै पनि सिफारिस हस्तलिखित नचल्ने बताउँदै अनलाइनबाट मात्र सेवा सञ्चालन हुने जानकारी दिनुभयो । 

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिकाले गत वर्षदेखि विभिन्न सूचक राखेर शिक्षा शाखा र प्रधानाध्यापक बीचको करार सम्झौता साथै प्रधानाध्यापक र शिक्षकबीचको करार सम्झौता गर्दै आएको छ । नगरले विद्यार्थीको नियमितताका लागि प्रदेश १ मै पहिलो पटक विद्यार्थी अभिभावक परिचयपत्र वितरण गर्दै आएको छ ।

उहाँका अनुसार वर्षमा चार पटक आफ्ना नानीहरूको अवस्था बुझ्न अभिभावकले विद्यालय जानु पर्छ । अभिभावक चार पटक विद्यालय नपुगेको अवस्थामा नगरबाट पाउने सेवा सुविधाबाट वञ्चित गराउने बाध्यकारी नियम बनाइएको उहाँले जानकारी दिनुभयो । 

नगर उपप्रमुख दुर्गाकुमार बरालले अनुगमनबाट आएको मूल्याङ्कनमा राम्रो गर्ने विद्यालयलाई पुरस्कार र नराम्रो गर्ने विद्यालयलाई दण्ड जरिवाना गरिने जानकारी दिनुभयो । भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रचना राईले नगरले हस्तान्तरण गरेका सामग्रीले धेरै विद्यालयलाई राहत पुग्ने बताउनुभयो । नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नगरले करफोक विद्या मन्दिरमा मात्र छोरीबुहारी शिक्षा कार्यक्रमअन्तर्गत बर्सेनि २५ लाख खर्च गरेर निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।