काठमाडौँ, फागुन ३ गते । बौद्धिक एवं प्रबुद्ध क्षेत्रले राजनीतिक दलका नीति र देश निर्माण, रूपान्तरणको कार्यदिशामा प्रश्न उठाउँदै गर्दा राजनीतिक दलका नेताहरूले नीतिमाथि बहस गर्ने प्रस्ट पारेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार क्रममा ‘प्रधानमन्त्री को बन्ने’ भन्ने बहस सामाजिक सञ्जालको केन्द्रमा रहँदा दलका नेताले नेतृत्व निर्वाचनपछि तय हुने भएकाले अहिले नीतिमै विमर्श केन्द्रित हुनुपर्ने र गर्ने प्रस्ट पारेका हुन् ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसाल, नेकपा (एमाले) का पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले प्रतिनिधि सभा निर्वाचनमा नेतृत्वसँगै नीतिगत बहस हुनुपर्ने बताउनुभयो । उहाँहरूले नेतृत्वमा मात्रै बहस केन्द्रित भएको स्वीकार गर्दै निर्वाचनमा राष्ट्रिय मुद्दा र राष्ट्रका सर्वोपरि हितबारे छलफल चलाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले पुँजीवादी व्यक्तिवाद, महत्वाकाङ्क्षावाद, आत्मकेन्द्रित चिन्तन र निषेध गरेर राष्ट्रियता कमजोर पार्ने मनोविज्ञानलाई प्रोत्साहित गर्ने प्रयत्न भए पनि दलहरूले यसलाई नीति र दूरगामी कार्यक्रममार्फत जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई कसरी निर्माण गर्ने हो, पुनर्निर्माण गर्ने हो, त्यससम्बन्धी नीति, सिद्धान्त, कार्यदिशा, कार्यक्रममा बहस भएको छैन । घृणाको चिन्तनलाई प्रोत्साहित गर्न खोजिँदै छ, जुन गलत हो । त्यसैले हरेक दलका घोषणापत्र, कार्यदिशा, नीति र सिद्धान्तलाई हेरेर मात्रै नागरिकले मतदान गर्नु पर्छ ।”
कांग्रेस उपसभापति भुसालले निर्वाचनपछि कसलाई प्रधानमन्त्री बनाउने र कांग्रेस संसदीय दलभित्र को प्रधानमन्त्री हुन्छ भन्ने बहस अब टुङ्गिएको बताउनुभयो । उहाँले यसले पार्टीभित्र आन्तरिक एकताको सन्देश दिएको बताउँदै निर्वाचन प्रचारप्रसार अभियान पाँच वर्ष सरकार सञ्चालनका क्रममा गरिने काम र नीतिगत बहसमै केन्द्रित भइरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि प्रधानमन्त्रीको पद मात्र महìवपूर्ण होइन, प्रधानमन्त्री भइसकेपछि आगामी पाँच वर्षसम्म नेपाली कांग्रेसले कुन एजेन्डालाई नेतृत्व गर्ने भन्ने कुरा मुख्य हो । त्यसैले हामीले घोषणापत्रमा केन्द्रित बहस र त्यो काम गर्ने कार्यतालिका तयार गर्दै छौँ ।”
मुद्दाकेन्द्रित बहस भएन
एमाले पूर्वउपाध्यक्ष एवं नेतृ अष्टलक्ष्मी शाक्यले देशलाई एउटा स्थायित्व दिनका लागि र संविधानलाई अझ प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँ निर्वाचनमा जाँदा घोषणापत्र आवश्यक रहने र घोषणापत्र मतदाताबिच नपुग्दा मुद्दामाथि बहस हुन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निर्वाचनको प्रचारप्रसार भइरहेको छ । तर निर्वाचनमा विचार, सिद्धान्त, समृद्धिको योजना, सुशासनको योजना र संविधान कार्यान्वयन गर्ने कुरामा नागरिकले बुझ्ने गरी बहस र छलफल भएको छैन ।” नेतृ शाक्यले राजनीति आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित भएको र जसरी पनि आफू मात्रै जित्ने सोच देखिएको टिप्पणी गर्दै देशको सङ्कटलाई निकासका लागि रूपान्तरण र अग्रगामी कार्यक्रममा बहस गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक वातावरण हेर्ने हो भने आक्षेप र एकले अर्कालाई घृणा पैदा गर्नेखालका अभिव्यक्ति आइरहेका छन् । स्वस्थ र मर्यादित वातावरण देखिँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामी छौँ, त्यसैले लोकतान्त्रिक संस्कार कस्तो हुनु पर्छ भन्ने चिन्तन मनन गर्नुपर्ने देखिएको छ । लोकतान्त्रिक संस्कारबिना निर्वाचनमा जे भइरहेको छ, त्यो राम्रो होइन ।”
नेतृत्वसँगै मुद्दामा केन्द्रित
पूर्वमन्त्री एवं रास्वपा उपसभापति अर्याल आफ्नो पार्टी नेतृत्वसँगै मुद्दामा केन्द्रित रहेको दाबी गर्नु हुन्छ । उहाँले नीतिका विषयमा धेरै घोषणापत्र, धेरै प्रतिबद्धता आए पनि नागरिकले राज्यको कामको अनुभूति गर्न नसकेको बताउनुभयो । समाजसँगै देशको नेतृत्व कसै न कसैले गर्नुपर्ने भएकाले नेतृत्वको प्रस्ताव गरेर निर्वाचनमा गएको बताउँदै उहाँले भन्नुभयो, “यसलाई हामीले नीतिमा बहस भएन, नेतृत्वकेन्द्रित भयो भन्न मिल्दैन ।”
उपसभापति अर्यालले नीतिमै बसेर नीति निर्माणकै लागि, कानुन निर्माणकै लागि, संविधान कार्यान्वयन गर्नकै लागि सरकारको नेतृत्व गर्ने अठोट राखेको बताउनुभयो । उहाँले घोषणापत्रमा देश निर्माण, सुशासन, जनजीविका, राष्ट्र र राष्ट्रियताको विषयमा स्पष्ट खाका बनाउने र आफ्नो विचार लिएर मतदातामाझ जाने बताउनुभयो ।
निर्वाचनमार्फत निकास
पूर्वप्रधानमन्त्री खनालले शान्तिपूर्ण ढङ्गले, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्नका लागि सरकारले अझै पर्याप्त तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा सहभागी हुनु हरेक अवस्थामा आफ्नो कर्तव्य भएको बताउँदै त्यो कर्तव्य निर्वाह गरिरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो निर्वाचनले देश र जनतालाई, राष्ट्रलाई राम्रो प्रगतिशील निकास दिनु पर्छ । अग्रगामी निकास दिनु पर्छ । दलहरूले पनि युगीन रूपान्तरणमा छलफल बढाउनु पर्छ ।”
कांग्रेस उपसभापति भुसालले पार्टीका तर्फबाट प्राथमिकतामा राख्ने कामसहित पाँचबर्से कार्यतालिका ल्याएर भरोसा र आशा जगाउने बताउनुभयो । उहाँले सुशासन र सेवा प्रवाहका सन्दर्भमा जनतालाई दिइने सेवालाई सहज र सुलभ बनाउने, मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्ने, युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्ने र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने र मुलुकका प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गर्ने जस्ता मुद्दामा कांग्रेसले बहस केन्द्रित गरेको बताउनुभयो ।
एमाले नेतृ शाक्यले पुराना दलमा कतिपय कमजोरी रहेको भए पनि लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई सम्झनुपर्ने बताउनुभयो । उहाँले नयाँ दलमा पनि राजनीतिक संस्कार, सिद्धान्त, विचारको छलफल, अनुशासन र नैतिकताबारे बहस हुनुपर्ने बताउनुभयो । रास्वपा उपसभापति अर्यालले दलहरूले सत्ता सञ्चालन गर्दा पदीय शक्ति दुरुपयोग गर्दा सुशासन नभएकाले राजनीतिक निकास पाउने गरी बहस थालिएको बताउनुभयो ।