• १३ साउन २०८१, आइतबार

थप दुई जनामा हैजा पुष्टि, सङ्ख्या ३० पुग्यो

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १ गते ।  काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रबार गरिएको परीक्षणमा थप दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाको छ । यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या ३० पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार स्ट्रल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १४ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो । असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । एक महिनाको  अन्तरालमा  ३० जनामा हैजा पुष्टि भएको छ । जसमध्ये १२ जना महिला र १८ जना पुरुष रहेका छन् ।  हैजा पुष्टि हुने सङ्ख्या सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समुहका  रहेका छन् । सो उमेर समूहका नौ जनामा हैजा पुष्टि भएको छ । 

पहिलो केसको घर र कार्यस्थलबाट भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो । 

भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा संक्रमण गरेर झाडापखाला लाग्ने चिकित्सकहरु बताउँछन् । पानी उमालेर पिउने, बासी फोहोर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा, पिसाब गरेपछि राम्रोसँग मिचिमिचि साबुनपानीले हातखुट्टा धुने, जथाभावी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सक बताउँछन् ।