• १३ साउन २०८१, आइतबार

भारत भ्रमणमा फलदायी कुराकानी भएको छ : अध्यक्ष दाहाल

blog

तस्बिर सौजन्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालय

काठमाडौं, साउन १ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको बताउनुभएको छ।  आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो। 

उहाँले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताउनुभयो। अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहित भएको पनि बताउनुभयो। उहाँले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनका लागि सम्बन्धलाई विस्तार गर्ने कुरामा सहमति भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘म भारत आएदेखि नै निकै राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक कुराकानी भइरहेको छ। संसारको सबैभन्दा ठूलो जनीतिक पार्टीको रुपमा स्थापित भारतीय जनता पार्टीको अध्यक्ष जेपी नड्डाजीसँग कुरा भयो। यहाँको अफिस म्यानेजमेण्ट कसरी चलेको छ ? त्यहाँ व्यवस्थापन कस्तो छ भन्ने बारेमा बुझ्दा म उत्साहित भएको छु। दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि राम्रोसँग सम्बन्ध बलियो बढाउनुपर्छ, भन्ने नड्डाजीको प्रस्तावलाई मैले समर्थन गरेको छु। कहिले बिजेपी र कहिले माओवादीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्त रुपमा गर्ने भन्ने समझदारी पनि भएको छ।’’

अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध विस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताउनुभयो। अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिए पनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन। अध्यक्ष दाहाल तीनदिने भारत भ्रमण सकेर आज नै नेपाल फर्किने कार्यक्रम छ।