• १५ असार २०८१, शनिबार

राजपुरमा पानी नपर्दा धानबाली नष्ट

blog

राजपुरको धानको ब्याड सुकेर धानबाली नष्ट । तस्बिर – जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, साउन १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ राजपुरका राम कुवेर यादवले ४ कट्ठा जग्गामा धानको ब्याड लगाउनुभएको थियो । असारको पहिलो साता उहाँले पाँच हजार रुपियाँ खर्च गरी १७ केजी बीउ लगाउनुभएको थियो । गतवर्ष असारको अन्तिम सातामा रोपाइँ सक्नुभएको थियो । तर यस पटक रोपाइँको बेलामा ब्याड सुकेर मर्न लागेपछि यादवको माना रोपेर मुरी फलाउने सपना तुहिएको छ । 

यादव जस्तै राजपुर र मकुरघाट टोलका सबै कृषकका धानको ब्याड सुकेर आधाभन्दा बढी नष्ट भएको छ । दुई सातासम्म वर्षा नभएपछि कपिलवस्तुमा लगाइएको धान खेती प्रभावित भएको छ । सिँचाइको लागि आकासे पानीकाे भर परेका कृषकहरुले ब्याड र रोपेका धानबाली सुकेर मर्ने अवस्थामा आएको छ । सिँचाइ सुविधाको अभाव हुँदा जिल्लामा यस वर्ष पनि धान खेती प्रभावित बनेको छ ।

कृष्णनगर, महाराजगन्ज, बुद्धभूमि, शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका, मायादेवी गाउँपालिकाका, शयोधरा गाउँपालिका कृषकहरुले प्रारम्भिक चरणमा नोक्सानी व्यहोर्नुपरेको छ । 

बुद्धभूमि ५ मघुरघाटका प्रकाश यादवले अघिल्लो वर्ष धान स्याहार्ने बेला पानी परेपछि नोक्सानी भएको थियो । १६ बिघा क्षेत्रमा वर्षाले नष्ट गरेको क्षतिपूर्तिको लागि नगरपालिकामा निवेदन दिएका थिए । पम्पबाट पानी तानेर लगाएको दुई कट्ठामा लगाएको बाली समेत सुकेर मर्न लागेको यादवले बताउनुभयो ।

जिल्लामा गत वर्ष ७१ हजार पाँच सय हेक्टरमा धान खेती गरिएको थियो । हालसम्म ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनुभयो । खेती गरिएका क्षेत्रका अधिकांश धानबाली सुकेर मर्ने अवस्थामा रहेको प्रमुख चौवेको भनाइ रहेको थियो । जिल्लामा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेको तथ्याङ्क छ । ज्ञान केन्द्रका अनुसार गतवर्ष बाली स्याहार्ने बेला पानी पर्दा उत्पादनमा ३० प्रतिशत नोक्सानी भएको बताइएको छ ।