• १५ असार २०८१, शनिबार

तरकारी जोन कार्यक्रमले कृषक लाभान्वित

blog

मीना कँडेल

कावासोती, साउन १ गते । पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँँका कृषक लाभान्वित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

कावासोती नगरपालिकाको वडा नं ४, ९, १०, १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३ र ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।  परियोजना सुरु हुुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर थियो । हाल क्षेत्रफल बिस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् ।

परियोजना लागू भएपछि किसानहरुमा थप हौसला मिलेको र तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको हुप्सेकोट १ जुकेपानी सुनौला महिला कृषक समूहका अध्यक्ष कृष्णमाया रानामगरले बताउनुभयो । 

विशेष गरेर कृषि सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमले कृषक बढी लाभान्वित भएको उहाँले बताउनुभयो । जुकेपानीबाट मात्रै एक सिजनमा १० करोड बराबरको काँक्रा विक्री गरिएको छ । यसबाहेक गोलभेँडा, आलु, बोडी, भ्यान्टा र करेलालगायत तरकारी खेती गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको प्रमुख विष्णुप्रसाद शर्माले परियोजना लागू भएका तीन पालिकाका १६ वटा वडामा तरकारी जोन अन्तर्गत कार्यालयले गर्ने सहयोगमा क्षेत्र विस्तारमा बीउबिजन, उत्पादन सामग्रीमा पचास प्रतिशत अनुदान र सिँचाइ आयोजनामा ८५ प्रतिशतसम्म अनुदान दिइएको जानकारी दिनुभयो ।

तरकारी जोन कार्यक्रम अन्तर्गत गरिएको तरकारी खेती ।