• १८ असार २०८१, मङ्गलबार

सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज

blog

शेरबहादुर सार्की

बाजुरा, साउन १ गते । सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको बताइएको छ । मार्तडी कोल्टी सडक कोल्टी हुँदै हिमाली गाउँपालिकासम्मको सो सडक स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा स्तरोन्नतिका लागि धमाधम काम सुरु गरिँदैछ ।

सडककै कारण व्यापार व्यवसाय गर्न अन्य गाउँका सबैलाई पनि सहज भएको छ । दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बाजुराको सदरमुकाम मार्तडी, बूढीनन्दा नगरपालिकाको कोल्टी बजारमा धाउनुपर्ने वाध्यता सकिएको हिमाली गाउँपालिका–४ का नवराज भण्डारी बताउनुहुन्छ । 

‘पछिल्लो समय स्थानीय तहले वडापालिका समेत सडकले जोडेपछि स्थानीयवासीको जनजीवनलाई सहज मात्र छैन दैनिकीसमेत फेरिएको छ’ भण्डारीले भन्नुभयो । 

स्थानीय तहले पछिल्लो समयमा भइरहेको तीव्र विकासले बाजुराका चार नगर र पाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पु¥याउन जोड दिएका छन् । 

पछिल्लो समयमा यहाँका सबै स्थानीयवासीको सडक नै पहिलो प्राथमिकता भएको छ ।    

हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले, हिमाली गाउँपालिकाका सात वडा मध्ये चार वडा सडक सञ्जालको पहुँचमा छ भने बाँकी तीन वडामा पनि दुई वर्षमै सडक सञ्जालको पहुँच गर्ने तयारी भइरहेको बताउनुभयो ।

अधिकृत भण्डारीले मार्तडी कोल्टी सकडको पोरखे लेख ढम्कनेलगायतका ठाउँमा समस्या भए पनि कोल्टीदेखि हिमालीको धुलाचौरसम्म वर्र्षाको समय पनि गाडी गुड्ने गरेको बताउनुभयो ।

यसभन्दा पहिला हिमाली गाउँपालिकाका स्थानीय झण्डै ६५ किलोमिटर पैदल हिँडेर मार्तडीबाट नून, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्थ्यो ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले केही वर्ष भित्रै, गाउँपालिकाका सबै वडामा गाडी पुग्ने बताउनुभयो ।

बाजुराका जगनाथ,गौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका , बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयवासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालनले दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । 

स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै बस्ती बस्तीमा सडक सञ्जाल जोडेर त्यसलाई चाँडै नै स्तरोन्नति गर्ने लक्ष्य राख्दै आएका छन् । 

यो आगामी वर्षमा हिमालीका तीन वडालाई पनि सडक सञ्जाल प¥याउने योजना छ, अन्य वडामा भने २०७६ सालमै गाउँमा सडक पुगेको अध्यक्ष मल्लले बताउनुभयो ।