• ७ वैशाख २०८१, शुक्रबार

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

blog

नयाँदिल्ली, साउन १ गते । भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा ९एलएसी० बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।     

वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेनगुप्ताले गरेका छन् । द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । यसअघि दुवै पक्षले सिमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका थिए । साथै दुवै देशले समाधान हुन बाँकी समस्या सैन्य र कूटनीतिक वार्ताका माध्यमबाट टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।     

सन् २०२० को अप्रिल–मेमा चीन–भारत सिमानाको पश्चिमी क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षले एकतर्फी रूपमा यथास्थिति परिवर्तनको धेरै पटक प्रयास गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।     

कैयौँ चरणका वार्तापछि दुवै पक्षले आफ्ना मतभेदलाई व्यवस्थापन गर्न र कुनै पनि विषयमा विवाद नगर्ने सहमति जनाएका थिए । साथै दुवै पक्षले सीमा विवादको अन्तिम टुङ्गो नलागेसम्म सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नु द्विपक्षीय सम्बन्धको समग्र विकासका लागि आवश्यक आधार भएको स्वीकार गरेका थिए ।     

हालै इण्डोनेशियाको बालीमा भएको जी २० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका थिए ।     

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्बाधरूपमा भइरहेको छ ।