• १४ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति निर्वाचनप्रति विपक्षी नेता प्रेमदासा चिन्तित

blog

कोलम्बो, साउन १ गते । श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा राष्ट्रपतिको आगामी निर्वाचनमा अग्रपङ्क्तिमा  रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका छन् ।     

अहिलेको संसदमा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन् ।     

राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले गोटाबाया राजपाक्षको विधानसभामा बहुमत रहेको दुईसय २५ सांसदले करिब दुई करोड २० लाख श्रीलङ्कालीको भाग्यको फैसला गर्ने अहिलेको वास्तविकता सुनाए ।     

देशको आर्थिक सङ्कटबारे चर्चा गर्दै उनले त्यसबाट राष्ट्रलाई उकास्ने योजना आफूसँग रहेको बताए । अतिधनीलाई करमा सहुलियत दिने आर्थिक कदम नचाल्न विगत तीन वर्षदेखि आफूले सरकारलाई जानकारी गराउँदै आएको तर त्यसलाई कहिल्यै कसैले नसुनेकाले अहिलेको विषम परिस्थिति उत्पन्न भएको उनले जनाए । विपक्षी नेता प्रेमदासले पूरै व्यवस्थालाई सच्याउन नयाँ निर्वाचन आवश्यक भएकामा जोड दिए ।     

प्रेमदासाले भारत सरकारको प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी, उनको सरकार र भारतका जनताले आफ्नो देशका जनताका आधारभूत मानवीय आवश्यकता पूरा गर्ने सन्दर्भमा अतुलनीय सहयोग गरेकामा आभार व्यक्त गरे । यसअघि विपक्षी नेता प्रेमदासाले राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए ।     

 राष्ट्रपति राजापाक्षले पदबाट राजीनामा दिएकाले संविधानबमोजिम आगामी बुधबार संसद्ले नयाँ राष्ट्रपति चयन गर्दैछ । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि नयाँ राष्ट्रपतिको निर्वाचन निर्धारित समयमा हुने बताएका छन् । खाद्यान्न र इन्धन अभावका कारण टापुराष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ ।