• २९ वैशाख २०८१, शनिबार

सहर नजिकै बेहडाबाबा

blog

प्रकाशविक्रम शाह 

सुदूरपश्चिमको उपमहानगरपालिका धनगढीमै बेहडाबाबा मन्दिर पर्दछ । धनगढी उपमहानगरको वडा नम्बर १६ मा बेहडाबाबा पर्ने भए पनि त्यहाँ पुग्न केही समय खर्चिनै पर्छ । 

धनगढीबाट बेहडाबाबा जान तीनवटा रुट छन् । देवहरिया, पथरी हुँदै जाँदा १४ किलोमिटर सडक छिचोल्नुपर्छ । दोस्रो रुट बेलीहुँदै जान्छ । त्यहाँबाट १८ किलोमिटरको सडकको यात्रा गर्नुपर्छ । तेस्रो रुट धनगढी, अत्तरिया, चौमाला हुँदै ४१ किलोमिटर दूरी तय गर्नुपर्दछ ।  तीन रुटमध्ये पहिलो छोटो रुटबाट दुईपाङ्ग्रे साधनमा जाँदा जङ्गल धेरै पर्ने भएकाले जङ्गली जनावरको आक्रमणमा पर्ने सम्भावना रहन्छ । साथै एउटा खोलामा पुल नहुँदा मोटरसाइकल तार्न गाह्रो हुनसक्छ । 

दोस्रो रुट अलि लामो छ तर पक्की सडक र यात्राको अधिकांश क्षेत्रमा  गाउँबस्ती पर्ने भएकाले केही सहज छ । 

तेस्रो रुटको सडक धनगढी, अत्तरिया, चौमाला हुँदै जानुपर्ने हुन्छ । पक्की सडक भए पनि यात्रामा धेरै समय बिताउनुपर्ने भएकाले त्यो मार्गमा दुईपाङ्ग्रे साधनमा यात्रा गर्नु त्यति सहज नहुन सक्छ । 

दोस्रो रुटबाट बेहडाबाबा मन्दिर जान धनगढीको क्याम्पस चोकबाट जोडिने हुलाकी सडक छिचोल्दै बेली बजारको पुलबाट पश्चिमतिर लाग्नुपर्छ । बेली पुलबाट पश्चिमतिर छिर्ने ठाउँमा बेहडाबाबाको दूरी १२ किलोमिटर लेखेको स्पष्टै देखिन्छ । त्यसपछि एक ठाउँमा दोबाटो पर्ने भए पनि सोधपुछ गरेर अगाडि बढ्न सकिन्छ । 

मन्दिरको महत्त्व

बेहडाबाबा मन्दिरमा कहिलेबाट पूजापाठ हुन थालेको हो, कहिले मन्दिर बनेको हो यकिन जानकारी वा तत्सम्बन्धी लेखोट कतै छैन । ३० वर्ष पहिले १०७ वर्षको उमेरमा बितेकी स्थानीय तिलकराम चौधरीकी बजैले आफू जन्मनु पहिलेदेखि नै बेहडाबाबामा पूजाआजा हुने गरेको जानकारी उनलाई दिएकी थिइन् । 

किंवदन्तीअनुसार अहिले मन्दिर रहेको ठाउँमा शताब्दीयौँ अघि इमलीको रुखमा ग्वालाले हँसिया रोप्दा रगत आउन थाल्यो । त्यसपछि सो क्षेत्रमा उत्खनन गर्दा दुई फिट लामो शिवलिङ्ग भेटिएको थियो । शिवलिङ्ग भेटिएपछि त्यसलाई बेरेर राखियो । यसरी बेरेर राखेको हुनाले समयकालमा बेरेर शब्द अपभ्रंश भई मन्दिरको नाम बेहडाबाबा रहन गएको विश्वास गरिन्छ । 

अर्को किंवदन्तीअनुसार ग्वालाको गाईले घरमा दूध दिइरहेको थिएन । किन गाईले दूध नदिएको भनेर जङ्गल चर्न गएको गाईलाई पछ्याउँदा त्यो गाईले अहिलेको मन्दिरनेर आफैँ दूध झारिरहेको ग्वालाले देखेछन् । त्यहाँ राम्रोसित हेर्दा दुई फिट लामो शिवलिङ्ग फेला पर्यो । त्यसपछि ग्वालाले दुई थुनको दूध शिवलिङ्गमा दिनहुँ चढाउन आउँछु र दुई थुनको दूध आफ्ना बच्चालाई खुवाउँछु भन्ने वचन गरेपछि गाईले घरमा दूध दिन थालेको थियो । 

यसरी भेटिएको शिवलिङ्गलाई मन्दिर बनाएर स्थापित गरियो । त्यो क्षेत्र गाई चर्ने ठाउँ भएको र गाईको बगाल हिँड्ने भएकाले बगाल शब्द अपभ्रंश भएर बेहडाबाबा नाम रहन गएको भनाइ पनि प्रचलित छ । 

भारतको अमरउजाला दैनिक पत्रिकाले सन् १९५० मै भारतीयले बेहडाबाबामा शिवलिङ्ग देखेको एक पटक उल्लेख गरेको थियो ।  बेहडाबाबाका विषयमा नेपालीभन्दा सीमावर्ती भारतीय मिडियामा बढी चर्चा हुने गरेको छ । 

उल्लेखित किंवदन्तीहरूका आधारमा शिवजीको शिला मानवद्वारा निर्मित नभई स्वप्रकट भएको र पछि मन्दिर बनाई यथास्थानमा स्थापित गरिएको अनुमान लगाउन सकिन्छ ।  


मेलाको खास समय र विश्वास 

बेहडाबाबा पहिले नेपालमा भन्दा भारतको उत्तरप्रदेशका लखिमपुर खिरी, सहजानपुर र दिल्ली आसपासका मानिसमा बढी प्रसिद्ध थियो । ती ठाउँका हजारौँ भक्तजन दशहरा मेलाका बेला नेपाल भारत सीमाबाट झन्डै १८ किलोमिटर पैदल हिँडेर मन्दिर पुग्ने गर्दथे । पछिल्लो समय भारतीय भक्तजन तुलनात्मक रूपमा निकै कम आउन गरेका छन् । धेरै पहिले त भारतबाट सयौँ गोरुगाडामा भजन गाउँदै भक्तजन आउने गर्दथे । नेपालका कैलाली, कञ्चनपुर, बाँके र बर्दियाबाट धर्मालवम्बीहरू आउने गर्छन् । 

सीमावर्ती भारतीयहरूले बेहडाबाबालाई आफ्नो कुल देवता मानेर पहिलो अन्न यहाँ आएर चढाउने प्रचलन पनि रहेको छ । 

बेहडाबाबामा दशहराका बेला नेपाली र भारतीय हजारौँ भक्तजनको यहाँ घुइँचो लाग्दछ । त्यतिबेला यहाँ व्यापारिक स्टल पनि लगाइन्छन् । मेला सात दिन चल्ने गर्छ । 

बेहडाबाबामा शिवरात्रि, माघी, चैते औँसी र हरेक सोमबार पूजाआजा गर्नेको भीड हुन्छ । शनिबार आएर पूजा गर्नेहरू पनि उत्तिकै हुन्छन् । बेहडाबाबामा मागेको फल प्राप्त हुने जनविश्वास रहेको छ । बेहडाबाबामा माग्दा सन्तान प्राप्ति हुने विश्वास पनि छ । 

धर्मशाला

विगतमा ठूलो मेलाका बेला यहाँ बसोबासको पर्याप्त बन्दोबस्ती हुँदैनथ्यो । अहिले आएर अरू बेला समेत बस्न मिल्ने गरी मन्दिर नजिकै गएको शिवरात्रिबाट धर्मशाला पनि सञ्चालनमा ल्याइएको छ । दुईतले सो धर्मशालामा २० कोठा छन् र एक पटकमा एक सय ५० भन्दा बढी मानिस त्यहाँ बस्न सक्छन् । धर्मशालामा पकाइएको खाने वा पकाएर खाने दुवै सुविधा  उपलब्ध छ ।  बेहडाबाबाको जङ्गल क्षेत्र घुम्न, तालमा डुङ्गा सयर गर्नका लागि पनि त्यहाँ पुग्नेको सङ्ख्या उल्लेख्य हुन्छ । यसरी हेर्दा बेहडाबाबा क्षेत्रको पर्यटकीय महत्त्वसमेत रहेको बुझ्न सकिन्छ । 

सङ्घीय सरकारको सहकार्यमा धनगढी उपमहानगरपालिकाले अहिले मन्दिर परिसरमा टायल र पर्खाल लगाउने तथा मूलद्वार बनाउने काम गरिरहेको छ ।

धर्मशालाको विकल्प होमस्टे 

बेहडाबाबामा पूजाआजा गर्ने र घुम्न आउनेका लागि अझ राम्रो बस्ने व्यवस्था होस् भन्नका लागि भादा होमस्टे पनि चलाइएको छ ।  पर्यटन बोर्डको समेत प्रवद्र्धनमा थारू समुदायले घरघरमा चलाएको होमस्टेमा खाने र बस्ने राम्रो व्यवस्था छ ।  बेहडाबाबा मन्दिरबाट होमस्टे पुग्न चार किलोमिटर यात्रा पूरा गर्नुपर्छ ।