• १३ साउन २०८१, आइतबार

‘विदुरलाई पर्यटनको हब बनाउँछौँ’

blog

नुवाकोट,साउन १ गते । नुवाकोट जिल्लाका १२ स्थानीय तहको एक विदुर नगरपालिकाले शिक्षा र स्वास्थ्य र पर्यटन प्रवद्र्धन पहिलो प्राथमिकतामा राखेको छ ।नगरप्रमुखमा निर्वाचित भएपछि राजन श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किएकालाई पालिकाभित्रै दिगो विकासमा लगाउने, शिक्षा, बालबालिका, कृषि क्षेत्रमा सुधार गर्ने काम गर्ने बताउनुभएको छ । विशेषतः प्रत्येक वडाको आवश्यकताका आधारमा विकास गर्ने योजनामा लागिरहेको उहाँले गोरखापत्रसँग बताउनुभयो । 

विदुरमा धार्मिक, प्राकृतिक, सांस्कृतिक रूपमा पर्यटन सम्भावना रहेको छ । ती सबै सम्भावनाको खोजी, पहिचान र प्रवद्र्धन गरी नगरपालिकालाई पर्यटनको ‘हब’ बनाउने हाम्रो प्रतिबद्धता छ, उहाँले भन्नुभयो । सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिका लागि स्थानीयवासीसँग निरन्तर समन्वय र सहकार्य गर्ने बताउँदै उहाँले नगरका १३ वटा वडामा स्वास्थ्यचौकीको व्यवस्था गरी वडामा नर्स र प्रयोगशाला व्यवस्था गर्ने योजना रहेको सुनाउनुभयो । 

वडास्तरमा नै मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गरिने भएको छ । नगरभित्रका पार्क उद्यानमा शारीरिक व्यायामस्थल र प्रत्येक वडामा योगशालासँगै विदुरमा रहेको नुवाकोट जिल्लाकै एक मात्र सरकारी अस्पतालमा थप सेवा विस्तार गर्ने उहाँले बताउनुभयो । 

ठूलो रोग लाग्नुभन्दा अगाडि नै थाहा पाउन नगरभित्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिको प्रत्येक चार–चार महिनामा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालयमा अध्ययन अध्यापनका लागि सकारात्मक वातावरण बनाउन आवश्यक बजेट व्यवस्था र प्रभावकारी अनुगमन गरिने भएको छ । शैक्षिक पूर्वाधार विकास गर्ने प्रमुख लक्ष्य रहेको बताउँदै उहाँले नगरभित्रका विद्यालयमा कक्षाकोठा र शौचालय अपाङ्गतामैत्री बनाउने, छात्राका लागि आवश्यक सेनेटरी प्याडलगायतको व्यवस्था गर्ने बताउनुभयो ।

फोहोरमैलाको समस्याको दिगो सामाधानका लागि नयाँ, आधुनिक र नमुना काम गर्ने तयारीमा नगरपालिका रहेको छ । नगरभित्र नियमित रूपमा फोहोर कसरी उठाउन सकिन्छ भन्ने सन्दर्भमा  बहस गरिरहेको भन्दै नगरप्रमुख श्रेष्ठले वडा नं. १३ मा ‘सेलिग्रेसन हाउस’का लागि बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । जनताको घरबाट दैनिक फोहोर उठाउनका लागि सवारीसाधन थप गर्ने र सार्वजनिक स्थलमा फोहोर हाल्ने भाँडो राख्ने काम भएको उहाँले बताउनुभयो ।

उहाँले आफूसमेत व्यवसाय सञ्चालन गरेर आएको मानिस भएकाले सरकारले व्यवसायीलाई दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउने तथा व्यापार र उद्योग सञ्चालन गरिरहेकालाई पनि करको दायरामा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरको विकासका लागि एकदमै निःस्वार्थ ढङ्गले काम गर्नेछु ।”