• २६ माघ २०८२, सोमबार

लमजुङका १२ सय ५८ छात्रालाई आजदेखि एचपीभी खोप लगाइँदै

blog

नवीनराज कुइँकेल
लमजुङ, माघ २६ गते ।
लमजुङमा आज (सोमबार) देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लमजुङमा आजदेखि ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइने भएको हो ।

अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ ।

खोप अभियानमा लमजुङमा एक हजार २५८ छात्रालाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिकामा २६ गतेदेखि २८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ भने बेसीशहर, सुन्दरबजार, मध्यनेपाल, राइनास नगरपालिका र  दूधपोखरी गाउँपालिकामा २७ गतेदेखि २९ गतेसम्म खोप लगाउने कार्यक्रम सञ्चालन हुनेछ ।

त्यस्तै, २७ र २८ गते दुई दिन दोर्दी गाउँपालिका र क्होलासोथर गाउँपालिकामा खोप कार्यक्रम तय गरिएको छ । तोकिएको दिनहरुमा विद्यालय तथा वडाहरुमा रहेका खोप केन्द्रबाट खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ सञ्चालन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ ।

विद्यालय तथा वडामा रहेका खोप केन्द्रमा खोप लगाउन छुट भएका किशोरीहरुलाई लक्षित गरी फागुन १ देखि ३ गतेसम्म प्रदेश अस्पताल, बेसीशहरमा एचपीभी खोप सेवा उपलब्ध गराइने जिल्ला खोप समन्वय समितिले जनाएको छ । खोपसम्बन्धी थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख शैलेन्द्रकुमार सिंहले बताउनुभयो । एचपीभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरिसकेको र यो खोप पूर्ण सुरक्षित रहेकाले पायक पर्ने खोप केन्द्रबाट खोपबाट खोप लिएर लाभ लिन समेत जनस्वास्थ्य प्रमुख सिंहको अनुरोध छ ।