• ७ जेठ २०८१, सोमबार

मध्यतमोरको सुरुङ निर्माण सम्पन्न

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको मध्यतमोर जल विद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । मध्य तमोर जल विद्युत् आयोजना कुल ७३ मेगावाट क्षमताको हो ।आयोजनाले शनिबार प्रेस वक्तव्य जारी गर्दै शुक्रबार राति १०ः३० बजेतिर सुरुङ छेड्ने कार्य (ब्रेक थ्रु) सम्पन्न भएको जनाएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र फुङ्लिङ नगरपालिकाको फुरुम्बुमा मुख्य संरचना रहने गरी निर्माणाधीन आयोजनाको तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भएको वक्तव्यमा उल्लेख गरिएको छ । 

वक्तव्यअनुसार ९ मार्च २०१९ देखि आयोजनाको सिभिलतर्फको निर्माण कार्य सुरु गरिएको थियो । मुख्य ठेकेदारका रूपमा चच्याचङ फस्ट हाइड्रो तथा पावर कन्स्ट्रकसन ग्रुप कम्पनी लिमिटेडले काम गरिरहेको छ । यस्तै इलेक्ट्रो मेकानिकलको कार्य सीडब्लूूटीडब्लूू, हाइड्रो मेकानिकलको कार्य माछापुच्छ«े मेटल तथा मेसिनरी वर्क प्रालि र विद्युत् प्रसारण लाइनको कार्य कस्मिक इलेक्ट्रिकल एन्ड इन्जिनियरिङ प्रालिले गरिरहेको वक्तव्यमार्फत जनाइएको छ ।

आयोजनाका प्रवन्धक डा. मणिराज पोखरेलका अनुसार सुरुङ दुई तिरबाट निर्माण गरिँदै आएको थियो । विद्युत् गृह रहने ठाउँ खोक्लिङ थुम्बा बेँसी र आयोजनाको मुहान फुरुम्बुको मित्लुङ क्षेत्रबाट सुरुङ निर्माणको कार्य हुँदै आएको थियो । दुवै तर्फबाट निर्माण भइरहेको सुरुङ जोडिएसँगै आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको आयोजनाका आवासीय इन्जिनियर डा. सुनीलकुमार लामाले जानकारी दिनुभयो । 

आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमका अनुसार हेडबक्सको काम पनि करिब ८० प्रतिशत सम्पन्न भएको छ । बालुवा थिग्य्राउने पोखरी, तीन सय मिटर लम्बाइ र एक सय मिटर चौडाइको सेटलिङ् बेसिनको कार्य भइरहेको छ । सम्भावित प्राकृतिक विपत्का समस्याबाट जोगाउनलाई सेटलिङ बेसिनलाई भने अन्डर ग्राउन्ड (भूमिगत) गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत् करिब १२ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुस्थित २२० केभीए क्षमताको सव–स्टेसनमार्फत जडान गरिने छ । आयोजनाको स्वीचयार्डबाट प्रसारण लाइनमार्फत ढुङ्गेसाँघु सव–स्टेसनमा पु-याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ । हाल नेपाल विद्युत् प्राधिकरणले ढुङ्गेसाँघुमा २२० केभी क्षमताको सव–स्टेसन निर्माण गरिरहेको छ । निर्माणाधीन मध्यतमोर जल विद्युत् आयोजना जिल्लाको हालसम्मकै ठूलो आयोजना हो ।