• २७ पुस २०८१, शनिबार

जुडो टोलीको बिदाइ

blog

काठमाडौँ, असार ३२ गते । नेपालले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा भाग लिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले शुक्रबार थाइल्यान्डको बैङ्ककमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली जुडो टोलीमा चार खेलाडी र चार अफिसियल छन् ।सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसला अभिवृद्धि गर्नुभयो । 

जुनियरको पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुनुहुनेछ । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्नुहुनेछ । घरेलु प्रतियोगितामा चारै खेलाडी बन्दी सहायता नियोग (पाम)सँग आबद्ध हुनुहुन्छ ।  देवकी र निशा सहोदर दिदीबहिनी हुनुहुन्छ ।

टोली प्रमुखमा नेपाल जुडो सङ्घका अध्यक्षसमेत रहेका जुडो युनियन अफ एसिया (जेयुए)का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष वज्राचार्य रहनुभएको छ । टिम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ हुनुहुन्छ । जुडो सङ्घका खेलकुद निर्देशक सुप्रसिद्द ताम्राकार पनि टोलीसँग बैङ्कक जानुहुनेछ । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गरेको छ ।