नेपाली रङ्गमञ्च अहिले फेरि चलमलाउन थालेको छ । नाटककार लाई भ्याइनभ्याई छ । काठमाडौँका प्रायः नाटकघर अहिले भरिभराउ देखिन्छन् । विभिन्न स्वादका नाटक अहिले नाटकघरमा मञ्चन हुन थालेका छन् । दर्शकमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । चलचित्रमा भन्दा अहिले नाटकमा धेरैको लगाव बढेको पाइन्छ । नाटकघरमा अहिले केही नाटक मञ्चन भइरहेका छन् । ‘ऐया माया’, ‘इन्साइड/आउटसाइड–फो’ र ‘कनन हरलता’ अहिले मञ्चन भइरहेका नाटक हुन् ।
‘ऐया माया’
नाटक ‘ऐया माया’मा अभिव्यक्तिका मुख्य माध्यम शरीरका हाउभाउ, भाषा र सङ्गीतको राम्रो संयोजन गर्ने प्रयास गरिएको छ । नाटकले मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गरेको छ । नाटकमा समाजमा चलिरहेको कामकाज, त्यसको परिस्थिति र व्यवस्थाले उब्जाएको मानसिक तनाव र छटपटीलाई प्रस्तुत गरिएको छ । समाज, राजनीति, व्यवस्था, मानवीय अभ्यासलाई शब्दभन्दा शरीरको हाउभाउ र सङ्गीतले बुझाउने कोसिस गरिएको छ । नाटकभित्र कथा त छ तर त्यो कथा एउटै धारमा बग्ने खालेको भने देखिँदैन ।
धेरै पात्र, उनीहरूको हाउभाउसहितको संवाद, साजसज्जा र कलाकारले बोलीको माध्यमबाट गरेको अभिनय यो नाटकभित्र खासै देखिँदैन तर नाटकभित्र कलाकारले गरेको भावरहित अभिनय भने अवश्य नै विशेष लाग्छ । नाटकभित्र गरिने संवाद बनिबनाउ लाग्दैन । दर्शकलाई यो आफ्नै कथा हो कि जस्तो लाग्छ । मञ्चको आवरण, नाटकमा हल्का दिइएको प्रप्स र यसको संवादले अवश्य नै धेरै अर्थ राख्छ । धेरै कुरामा अल्झिएर मानसिक तनावमा रहेको पात्रले नाटकभित्र समाज र त्यहाँ चलिरहेको व्यवस्थालाई इङ्गित गर्ने काम गर्छ ।
माया, सुख, सुविधा, शिक्षा, न्याय यी सबै कुरा मानिसलाई चाहिएको छ । यिनै कुराभित्र उसले आफ्नो खुसी व्याप्त गरिरहेको छ । मानिस आफू मात्र यसमा होमिन चाहँदैन, सत्ताको र उसको शक्तिका लागि अरूलाई पनि यसमा सामेल गराउन चाहन्छ । उसलाई यो यात्रामा केही सजिला र केही अप्ठ्यारा कुराको पनि सामना गर्नुपर्ने हुन्छ । आफ्नो परिवार भएर पनि ऊ आफूलाई एक्लो भएको महसुस गर्छ । यिनै कुरामा नाटकभित्र प्रश्न गरिएका छन् ।
मानिसको अभिव्यक्ति उसको सङ्गीत मात्र होइन, उसको सिङ्गो शरीर अभिव्यक्तिको सशक्त माध्यम हो भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ । नाटकमा थोरै पात्र छन् तर उनीहरूको अभिनयले सिङ्गो मानव समाजको भार बोकिरहेको महसुस हुन्छ । नाटकको सङ्गीतले भरपूर आनन्द दिन्छ । खोला, डोरी तथा किताबलाई दिइएको रातो रङले मानिसभित्र झल्किने आवेगलाई इङ्गित गर्छ । मञ्चभित्र नाटकका लागि प्रयोग गरिएका मेचको उत्तिकै अर्थ छन् । नाटकले कम संवादबाट पनि धेरै कुरा दर्शाउन सकिन्छ भन्ने भाव प्रकट गर्छ ।
निर्देशक सुदाम सीकेले नाटकभित्र फरकफरक स्वाद पस्कन खोज्नुभएको छ । धेरै ठाउँमा उहाँ सफल हुनुभएको छ भने कहीँ उहाँको असफलता पनि झल्किछन् । कलाकारको अभिनय खासै नयाँ होइन । सबैले आफ्नो अभिनय वजनदार देखाउने प्रयत्न गरेका छन् । कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय छ । शिवराज जोशी र शर्मिला गुरुङले नाटकमा सङ्गीत भर्ने काम गर्नुभएको छ ।
‘इन्साइड/आउटसाइड–फो’
युद्धले निम्त्याएको अस्थिरता र त्रासदीले समाजलाई कस्तो बनाउँछ भन्ने कुरा नाटक ‘इन्साइड÷आउटसाइड–फो’मा पाइन्छ । दर्शक नै पात्र बनेका नाटकभित्र जनयुद्धमा भएका कुरालाई प्रत्यक्ष रूपमा महसुस गर्न सकिन्छ । नेपालीले भोगेको वास्तविक जीवनको अनुभव हो यो नाटक । १० वर्षे द्वन्द्वले निम्त्याएको भावनात्मक प्रभावबारे नाटकले पस्केको छ ।
हामीले १० वर्षे द्वन्द्वको सामना ग-यौँ । आफ्नानजिकका आफन्त गुमायौँ, सम्पत्ति गुमायौँ । हामीलाई विश्वास थियो कि ०६२/६३ को जनआन्दोलनपछि हाम्रा सपना पूरा हुन्छन् तर राजनीतिक व्यवस्थाबाहेक अन्य कुरामा हामीले खासै केही परिवर्तन पाएनौँ । हिजाको त्यो द्वन्द्वले हामीलाई अझै पनि चिमोटिरहेको छ । कतिको मनमा त खाटा पनि बसिसक्यो होला तर पनि हामीले भोगेका ती दिन अझै बिर्सन सकेका छैनौँ । द्वन्द्व सकिएको लामो समय बितिसक्दा पनि हामीले अझै पनि त्यो द्वन्द्व बिर्सन सकेका छैनौँ । हाम्रो सपना हिजो जस्ता थिए आज पनि उस्तै छन् । हाम्रा सपना हिजो जहाँ आएर टुङ्गिएको थियो आज पनि त्यहीँ छचल्किरहेका छन् । कहिले पूरा हुन्छ होला यी
सपना ? यही कुराभित्र नाटक रुमलिएको छ । नाटकभित्र छिरिसकेपछि जोकोहीको पनि दिमागमा यी प्रश्न घुम्छ ।
नाटकघरभित्र प्रवेश गर्दा एक अपरिचित व्यक्तिले दर्शकको आँखामा पट्टी लगाइदिएर मञ्चमा लिएर जाने काम गर्छन् । त्यसपछि सुरु हुन्छ नाटकमा अनेक प्रकारका गतिविधि । दर्शक मञ्चभित्र अलमल्ल पर्न पनि सक्छन् । आँखामा पट्टी लगाएको छ । मञ्चभित्र कहाँ गएर बस्ने र के गर्ने ? त्यहाँ पानी र चट्याङका आवाज सुनिन्छन् । भोका कुकुर र उडिरहेका चराको आवाजले पनि दर्शक रनभुल्लमा पर्छन् । दर्शकको मनमा एक किसिमको डर पैदा भइसकेको छ तैपनि डराई डराई भए पनि उनीहरू आफ्ना पाइला चालिरहन्छन् । मञ्चमा रित्तिएका भाँडा, थोत्रा कपडा र छरिएका चामल पनि राखिएका छन् । नाटकले दर्शकलाई प्रकाशको महìव, गन्ध, स्पर्श र भोकतिर्खाको महसुस गराउँछ ।
निर्देशक रामप्रसाद ढकालले नाटकमा बिल्कुलै नयाँ कुरा प्रयोग गर्न खोज्नुभएको छ । कलाकार र दृश्यबिनाको नाटक बनाउन त के सोच्न पनि धेरै मुश्किल कुरा हो तर निर्देशक ढकालले यो आँट गर्नुभयो । एक घण्टाको नाटकमा डर र त्रासले दर्शकलाई कति बेला आफ्नो आँखाको पट्टी खोलिने हो भन्ने कुराले सताइरहन्छ । नाटकमार्फत दर्शकले धेरैभन्दा धेरै आफ्नो ज्ञानेन्द्रीय शक्तिलाई मजबुत बनाउन सक्छन् । दर्शकको आँखा मात्र नभएर अन्य कुराले पनि धेरै काम गरिरहेका हुन्छन् । आँखा बन्द हुँदा कान सक्रिय हुन्छ भने यसले मानिसको सोच्ने क्षमतामा पनि धेरै फरकपन ल्याउँछ ।
‘कनन हरलता’
थारू भाषाको नाटक हो– ‘कनन हरलता ।’ महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथन वरपर नाटकको कथा घुमेको छ । नाटकमा राजा परीक्षितका छोरा र छिमेकी राज्यकी राजकुमारीबीच भएको वियोगान्त प्रेमकथालाई उजागर गरिएको छ । नाटकमा भगवान् कृष्णको स्वरूपलाई प्रस्तुत गरिएको छ । भगवान् कृष्णले आफ्नो विराट स्वरूप प्रकट गरे, सबले आ–आफूभित्र भगवान्लाई देखे । कसैले यसमा आफ्नो मृत्यु देखे तर कसैले पूर्णरूप देखेनन् । यही कृष्णको एक स्वरूप हो– नाटक ‘कनन हरलता’ । थारू समुदायमा प्रचलित किंवदन्तीमाथि आधारित नाटक प्रदेश २ मा बोलिने बज्जिका भाषामा तयार भएको छ ।
रितेश कार्की, जयराम ढकाल, उमेश चौधरी, शिशिर गिरी, प्रतीक चौधरी, सरिता भुजेल, अरुण पौडेल, युनिषा बजगाईं, सागर भट्टराई, सञ्जय चौधरी, सबिता थिङ, श्रवण यादवको नाटकमा अभिनय रहेको छ । नाटकमा राजकमल फकिर, तुलसी बोहराको सङ्गीत, जयराम ढकालको प्रकाश परिकल्पना, सन्देश कार्कीको प्रकाश परिचालन, सरिता भुजेलको वेशभूषा समावेश छ । नाटकमा रङ्गकर्मी कुन्दन थारूको डेब्यू निर्देशन रहेको छ ।