• ६ जेठ २०८१, आइतबार

अध्यक्ष दाहाल भारत प्रस्थान

‘कूटनीतिक संवादबाट सीमा समस्याको समाधान खोजिनेछ’

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार ३१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको छ । 

शुक्रबार भारतको ३ दिने भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भारतको राजनीतिक भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताउनुभएको हो । 

उहाँले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताउनुभयो । उहाँले भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरुसँग आफ्नो कुरा हुने उल्लेख गर्नुभयो । 

अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘छिमेकी मित्रराष्ट्र भारतको राजनीतिक भ्रमणको लागि जाँदैछु । यो भ्रमण मुख्यतः एउटा सद्भावना भ्रमणको रुपमा छ । नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रबिन्दुमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रुपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुन्छ ।’’

व्यापार सन्तुलन कम गर्ने 

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कूटनीतिक संवादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताउनुभयो । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्नेलगायतको विषयमा पनि छलफल हुने उहाँको भनाइ छ । 

उहाँले द्विपक्षीय हित हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु अगाडि बढाउने कुरा पनि हुने बताउनु भयो । आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर नेपाल भारत सम्बन्धमा विविध पक्षहरुमा चर्चा स्वाभाविक रुपले हुने नै छ । मैले विगतमा झै यसपालि पनि नेपालको समग्र विकासको निम्ति द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसाबले, व्यापारको सन्तुलनलाई कम गर्ने विषयमा, इतिहासबाट कतिपय थाँती रहेका विषयलाई कूटनीतिक र संवादको माध्यमबाट टुङ्ग्याउने कुरा, सिमानाका विषयलाई पनि त्यसरी नै कूटनीतिक संवादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने कुरालगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ ।’’

 ‘‘दुवै देशको आर्थिक हित हुनेगरी, द्विपक्षीय हित हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु कसरी अगाडि बढाउने भन्ने कुरा पनि स्वभावैले हुन्छ । समग्रमा यो भ्रमण सद्भावना भ्रमण भएको हुनाले भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी र हाम्रो पार्टी पनि एउटा गठबन्धन भित्रको महत्वपूर्ण पार्टी भएको हुनाले दुई पार्टीका बीचमा एउटा सकारात्मक र सद्भावपूर्ण वातावरण निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने कुरामा पक्कै पनि यो केन्द्रित हुन्छ । त्यसकारण यो भ्रमण अन्ततः दुवै देशका राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा नै केन्द्रित हुन्छ ।’’ अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताउनुभयो । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले आफू उत्साहका साथ भ्रमणमा गएको बताउनु भयो । दाहाल साउन १ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।