• १४ माघ २०८२, बुधबार

देशभर कुहिरो र बादल

जनजीवन प्रभावित, हवाई उडान ठप्प

blog

काठमाडौँ उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल। तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, माघ १४ गते । काठमाडौँ उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात,  हवाई उडान र स्थानीय बासिन्दाको दैनिकीमा ठुलो असर परेको हो । काठमाडौँमा बिहानैदेखि दृश्यता निकै कम भएको छ ।

कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएको । यसले दुर्घटनाको जोखिम बढाएको छ । धेरै बिहानको समयमा घरबाट बाहिर निस्कनै हिच्किचाएका छन् । हवाई यात्रुहरू सबैभन्दा बढी मारमा परेका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्दसमेत भएका छन् । आन्तरिक उडानहरू पनि प्रभावित भएका छन् ।  यात्रुहरू विमानस्थलमा लामो समय प्रतीक्षा गर्न बाध्य भएका छन् ।

पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातले स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध हुने, दाउरा तथा घाँस काट्न जानेहरू प्रभावित भएका छन् ।

कोशी र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुर्‍याएको छ । मौसम पूर्वानुमानका अनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ । यात्रा गर्नेहरू, हवाई उडानमा निर्भर व्यक्तिहरू तथा पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।