• १४ माघ २०८२, बुधबार

सिराहा क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा

blog

जीवछ यादव 

लहान, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ र स्वतन्त्र १८ गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस निर्वाचन क्षेत्रमा छ दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ । 

विसं २०४६ पछि भएको प्रतिनिधि सभाको निर्वाचनमा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले तीन पटक र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले दुई पटक जित हासिल गरिसकेका छन् । २०७९ को निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबिच भएको गठबन्धनका उम्मेदवार रहेका रामशङ्कर यादवले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवार पदमनारायण चौधरीलाई दुई हजार ८३ मतले पछि पारेर विजयी हुनुभएको थियो । 

आगामी निर्वाचनका लागि सबै राजनीतिक दलले आआफ्नै उम्मेदवार उठाएपछि यस पटक नयाँ र पुराना गरी छ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको हो । 

नेपाली कांग्रेसले यसै क्षेत्रबाट दुई पटक निर्वाचित हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदमनारायण चौधरीलाई उम्मेदवार नबनाई पुराना नेता रामसुन्दर चौधरीलाई उम्मेदवार बनाएको छ । त्यसै गरी २०७९ मा नेकपा (एमाले) बाट निर्वाचित रामशङ्कर यादव फेरि चुनावी मैदानमा उत्रिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उम्मेदवारका रूपमा रहेका बब्लु गुप्ता र जनता समाजवादी पार्टी नेपालका युवा नेता सत्यनारायण यादवको उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई झन् रोचक बनाएको शिक्षक वीरेन्द्र यादवले बताउनुहुन्छ । 

घरदैलो, अगुवा कार्यकर्ताको भेलासहितका चुनावी कार्यक्रम गरेर चुनावी प्रचारप्रसारमा जुटिसकेका उम्मेदवारले स्थानीय शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटनका विषयवस्तुलाई चुनावी एजेन्डा बनाएर प्रचारप्रसारमा लागेका छन् । ठाडी–लहान सडक विस्तार, खुटी नहर सञ्चालन, बलान नदीमा भइरहेको कटान नियन्त्रण, रोजगारी, सुरक्षित आवास, शौचालय, उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति, व्यवस्थित ढल निकास, भ्रष्टाचार अन्त्य र दाइजो प्रथा अन्त्यसहितका विषयमा प्रतिबद्धता जनाउने उम्मेदवारलाई यस पटकको निर्वाचनमा मतदाताले मतदान गर्ने मनस्थिति बनाएको स्थानीय शिवजी यादवले बताउनुभयो । 

यता साङ्गठनिक रूपमा पुरानो पकड रहेको र आफू पुरानो नेता हुनुका साथै शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रमा गरिएको योगदानले चुनाव जित्ने दाबी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले गरिरहनुभएको छ । त्यसै गरी यस क्षेत्रमा नेकपा (एमाले) को बलियो सङ्गठन रहेको र यस क्षेत्रको जनताको आवाज सदनमा आफूले निरन्तर उठाइरहेकाले चुनाव जित्नेमा ढुक्क रहेको नेकपा (एमाले) का उम्मेदवार रामशङ्कर यादवले बताउनुभयो । किसान मजदुर र हरेक तहतप्काका मतदातामा इमानदार छवि र जनआवाजलाई जहिले पनि उठाइरहेकाले चुनाव जित्नेमा ढुक्क रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामचन्द्र यादवको दाबी छ । जेनजी आन्दोलनबाट राजनीतिमा उदाएको रास्वपाका उम्मेदवार बब्लु गुप्ताले ४७ वर्षदेखि रामकुमार शारडा र उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन जस्ता महत्वपूर्ण कार्य गराउन आफ्नो विशेष भूमिका रहेकाले आफूले यहाँको जनताको मन जित्न सक्ने तर्क गर्नुभएको छ ।  

मधेश आन्दोलनमा युवा नेता र जनताका पक्षमा हिम्मत, साहस गरेर बोल्ने छविका कारण आफू विजयी हुने जसपा नेपालका उम्मेवार सत्यनारायण यादवको दाबी छ । 

कानुन व्यवसायी रहेर यस क्षेत्रका जनताको कानुनी उपचार र न्याय दिलाउन आफूले निर्वाह गरेको भूमिकाले आफू विजयी हुने जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीको दाबी छ । 

उत्तरी भेगमा रहेका भसुवा र बेतहाखोला जाने पक्की सडक निर्माण र धार्मिक पर्यटन स्थलका रूपमा रहेको सलहेश फूलबारी, पञ्चावती राजदेवी, मानिकदह, पकडियागढ, देवीदह, हात्तीदह र झ्वाँइ खोल्सीको विकासको ठोस प्रतिबद्धता आउने दललाई मतदान गर्ने लहान–१५ का जागेश्वर चौधरीले बताउनुभयो । 

सिरहा क्षेत्र नं. १ मा लहान नगरपालिकाका २४ वटा वडा र धनगढीमाई नगरपालिकाका दुई वटा वडा, लक्ष्मीपुर पतारी, सखुवानानकरपट्टी, भगवानपुर गाउँपालिकाका १५ गरी जम्मा ४१ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख ११ हजार ९४९ मतदाता रहेका छन् ।