• १४ माघ २०८२, बुधबार

उदयपुरमा बहुपक्षीय प्रतिस्पर्धा

blog

उदयपुर–१ का लागि नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, माघ १४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ ।

विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ । 

यस पटक अधिकांश दलले नयाँ अनुहारलाई उम्मेदवार बनाएर अगाडि सारेकाले परम्परागत मतधार, सङ्गठन क्षमता र परिवर्तनको चाहनाबिच बढ्दो द्वन्द्वले निर्वाचनलाई बहुआयामिक बनाएको हो । विगत लामो समयदेखि नेपाली कांग्रेसको बलियो आधार मानिँदै आएको यस क्षेत्रमा चार पटक लगातार डा. नारायण खड्काले कांग्रेसको प्रतिनिधित्व गर्दै आउनुभएको भए पनि यस पटक खड्काले उम्मेदवारी नदिने घोषणा गरेसँगै कांग्रेसले पूर्वजिल्ला सभापति विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ ।

बस्नेत २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले उम्मेदवारसँग पराजित भए पनि पार्टी सङ्गठनमा लामो समय योगदान दिएका नेता हुनुहुन्छ । जिल्ला सभापति हिमाल कार्की कांग्रेसका लागि यो निर्वाचन केवल जितहारको प्रश्न मात्र नभएर विगतको विरासत जोगाउँदै नयाँ नेतृत्व स्थापित गर्ने अवसरका रूपमा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “केन्द्रीय नेतृत्व परिवर्तनसँगै जिल्ला तहमा पार्टीभित्र अभूतपूर्व एकता भएकाले निर्वाचनमा यहाँका जनताले हामीलाई बढी विश्वास गर्नेमा हामी ढुक्क छौँ ।”

पछिल्लो सङ्घीय निर्वाचनमा यस क्षेत्रमा निरन्तर पराजय बेहोर्दै आएको नेकपा (एमाले) ले यस पटक भने चुनाव जित्न अनुभवी स्थानीय नेता दुर्गाकुमार थापा ‘स्वस्ती’ लाई उम्मेदवार बनाएको छ । थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।

नगरप्रमुखका रूपमा थापाले कृषि विकास, पूर्वाधार निर्माण, पर्यटन प्रवर्धन तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेको समर्थकको दाबी छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा पुनः नगरपालिका प्रमुखमा गठबन्धनका उम्मेदवारसँग पराजित भए पनि सङ्गठन क्षमता, लामो राजनीतिक सङ्घर्ष र जनसम्पर्कलाई आधार बनाउँदै एमालेले थापालाई सङ्घीय चुनावको सफलता हासिल गर्ने मुख्य अस्त्रका रूपमा अगाडि सारेको अध्यक्ष भागवत राउतले बताउनुभयो ।

यसैबिच विभिन्न कम्युनिस्ट पार्टीको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले बलदेव चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरी २०७४ सालमा नेकपा (एमाले) बाट त्रियुगा नगरपालिकाको प्रमुखमा निर्वाचित नेता हुनुहुन्छ ।

एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) हुँदै २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर नगरप्रमुखमा उम्मेदवारी दिएका चौधरी त्यतिबेला पराजित भए पनि स्थानीय तहमा विकासनिर्माणको अनुभव र परिचित अनुहार भएकाले कम्युनिस्ट एकताको प्रतिनिधि पात्रका रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ । चौधरीलाई पनि स्थानीय वृत्तमा बलिया उम्मेवारका रूपमा हेरिएको छ ।

वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै गएको राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रबाट पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ । उदयपुरको तत्कालीन हडिया गाविसको ज्यामिरेमा जन्मिएका गेलाल हाल इटहरीमा व्यवसाय गर्दै आएका व्यक्ति हुनुहुन्छ ।

अहिलेसम्म सक्रिय राजनीतिमा नदेखिएका गेलालले पार्टीपङ्क्तिलाई प्रभावमा पारेर अन्तिम अवस्थामा टिकट ल्याउन सफल हुनुभएको भन्ने स्थानीय नेता कार्यकर्ताबिच चर्चा छ । आममतदाताबिच परिचित नभए पनि युवा मतदाता तथा परिवर्तन चाहने वर्गको रोजाइ बन्न सक्ने आकलन भने उदयपुरको राजनीतिमा गरिएको छ ।

गेलालसँगै यस पटक उदयपुर क्षेत्र नं. १ मा एक स्वतन्त्र उम्मेदवारसहित १८ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । अधिकांश उम्मेदवार नयाँ अनुहार भएकाले यो निर्वाचन परम्परागत दुई÷तीन दलको सीमित प्रतिस्पर्धाभन्दा फराकिलो बनेको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसले ३१ हजार २७० मत प्राप्त गरेको थियो भने एमालेले २८ हजार ८९१ मत ल्याएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ९१५ र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार ४४४ मत पाएको थियो ।

त्यतिबेला नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बिच चुनावी गठबन्धन भएकोले कांग्रेसको जितमा गठबन्धनको प्रभाव स्पष्ट देखिएको थियो तर यस पटक भने राजनीतिक समीकरण फेरिएकाले मत विभाजनको सम्भावना बलियो हुँदै गएको छ ।

उदयपुर क्षेत्र नं. १ मा अहिले ७१ हजार ४५२ पुरुष, ७१ हजार ३५० महिला र अन्य दुई जना गरी कुल एक लाख ४२ हजार ८०४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । ठुलो सङ्ख्यामा रहेका युवा तथा पहिलो पटक मतदान गर्ने मतदाताको भूमिकाले निर्वाचनलाई थप निर्णायक बनाउन सक्ने राजनीतिक विश्लेषकको भनाइ छ । यद्यपि बलियो साङ्गठानिक आधार र धेरै प्रतिबद्ध कार्यकर्ता भएकाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच नै कडा प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।