• १४ माघ २०८२, बुधबार

छत्रेश्वरीमा बजेट संशोधन र विभिन्न कानुन पारित

blog

क्याप्शनः गाउँसभा सम्पन्न भएपछि सामुहिक तस्बिर खिचाउँदै जनप्रतिनिधीहरु । तस्बिरः शंकर केसी

शंकर केसी
शारदा (सल्यान), माघ १४ गते ।
बजेट संशोधन, समायोजन एवम् विभिन्न ऐन तथा कार्यविधिहरु पारित गर्दै सल्यानको छत्रेश्वरी गाउँपालिकामा गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ । भोटेचौरस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभाको हिउँदे अधिवेशनमा आय व्यय विवरणदेखि विभिन्न समिती मार्फत पेश भएका प्रतिवेदनमाथी बृहत् छलफल गरिएको थियो ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीको अध्यक्षतामा मङ्गलबार सम्पन्न अधिवेशनले बजेट संशोधनसम्बन्धी प्रस्ताव बहुमतको साथ पारित गरेको र अन्य सबै विधेयकहरु सर्वसम्मत रुपमा पारित गरेको गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो ।

उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बजेट संशोधनसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यस प्रस्तावमा गाउँसभाका सदस्यहरुले सुझावहरु प्रदान गर्नुभएको थियो । प्रशासनिक भवन निर्माणका लागि एक करोड ५० लाख विनियोजन भएकोमा जग्गासम्बन्धी कानुनी समस्यका कारण तत्काल भवन निर्माण गर्न नसकिने भएकले उक्त बजेट अन्य विभिन्न योजनामा विनियोजन गरेको छ । एक करोड ७१ लाख रुपियाँ बढीको बजेट रकमान्तर भएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभाले गत साउनदेखि हालसम्म सम्पन्न सातवटा कार्यपालिका बैठकका निर्णयहरु अनुमोदन गरेको छ । गाउँसभामा वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौदबहादुर बस्नेतले विज्ञापन व्यवस्थापन विधेयक प्रस्तुत गर्नुभयो । यस्तै अधिवेशनमा बेरुजु फर्छ्यौट कार्यविधिसम्बन्धी प्रस्ताव प्रेमबहादुर नेपालीले गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।

यस्तै आर्थिक विकास समिति संयोजक टिकाराम बुढाले कृषि व्यवसाय प्रवर्धन ऐन, आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्मको आय व्यय विवरण, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायीत्व विधेयक, २०८२ गाउँसभामा पेश गर्नुभएको थियो । प्रस्तुत विवरण अनुसार पुस मसान्तसम्म कुल बजेट ५२ करोड ५३ लाख ३८ हजार १९४ रुपियाँमध्ये १३ करोड तीन लाख १४ हजार ७७३ रुपियाँ खर्च भएको छ ।

लेखा समिति संयोजक प्रकाश हमालले लेखा समिति गठन तथा कार्यविधि, २०८२ प्रस्तुत गर्नुभयो । साथै आर्थिक वर्ष २०८१/०८२ को महालेखा परीक्षकको कार्यालयबाट प्राप्त प्रारम्भिक प्रतिवेदन तिर्थराज दाहालले गाउँसभामा जानकारी गराउनुभयो । वडा नं ७ का वडा अध्यक्ष टेकबहादुर बिष्टले गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि, २०८२ सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो । स्वीकृत दरबन्दी तेरिज कार्यपालिका सदस्य तुल्सा विकले प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभा समापन अवसरमा गाउँपालिका अध्यक्ष बुढाथोकीले सम्बोधन गर्नुहुँदै सहकार्य, समन्वयको सकारात्मक परम्परालाइ निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । अधिवेशनमा सहभागी अन्य जनप्रतिनिधिहरूले पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै छत्रेश्वरी गाउँपालिकाको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको थियो ।