• १४ माघ २०८२, बुधबार

अधिकांश क्यान्सर उपचार स्वदेशमै

blog

काठमाडौँ, माघ १४ गते ।  नेपालमै उनन्सय प्रतिशत क्यान्सरको उपचार सम्भव छ । क्यान्सर उपचारमा बर्सेनि नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । विश्वमा क्यान्सर उपचारमा नयाँ प्रविधि विकास भए पनि नेपालमा भने त्यस्ता प्रविधि भित्र्याउन सकिएको छैन । 

“विश्व स्तरको क्यान्सरको उपचार नेपालमा नै हुन्छ,” भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भन्नुभयो, “नेपालमा सम्भव नहुने केही क्यान्सरको उपचारका लागि मात्र बिरामीहरू भारतलगायत मुलुकमा जाने गरेका छन् ।”

नेपालमा नभएका प्रविधिमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी जस्ता क्यान्सरका उपचार हुन् । ती उपचार नेपालमा सम्भव छैन । प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन), जसको मूल्य खर्बौं रुपियाँ पर्दछ, भारतमा पनि सीमित मात्रामा यस्ता प्रविधि रहेको छ । तीबाहेक अन्य सम्पूर्ण उपचार नेपालमा हुने गरेको छ । डा. चालिसेले उनन्सय प्रतिशत क्यान्सरको उपचार नेपालमा नै हुने गरेको बताउनुभयो । 

निजी अस्पतालहरूको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) की कोषाध्यक्ष स्वरूपा श्रेष्ठले क्यान्सर उपचारमा नेपालले फड्को मार्दै गएको जानकारी दिनुभयो । “क्यान्सर उपचारमा नेपालका अस्पतालले नयाँ प्रविधि ल्याएर अगाडि बढिरहेका छन्,” कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो, “एकाध प्रविधिबाहेक नेपालको क्यान्सर उपचार उत्कृष्ट छ ।”

मानिसको जीवनशैलीका कारण नेपालमा क्यान्सर रोगका बिरामी बढ्न थालेका छन् । अखाद्य पदार्थ, तरकारीलगायत खाद्य वस्तुमा अत्यधिक विषादी, जीवनशैली, खानपान, धूमपान, मद्यपान, मोटोपना, वातावरणीय कारणले क्यान्सर रोगका बिरामी बढ्न थालेका हुन् । 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगबाट मृत्यु भइरहेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेले धूमपान, मोटोपन, मद्यपान, जीवनशैली, विषादी आदि कारणले क्यान्सरलगायत नसर्ने रोग नेपालमा बढिरहेको बताउनुभयो । नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप प्रमुख हुन् । डा. चालिसेले सरकारले पनि सुरुमै जनचेतना जगाई क्यान्सरको स्क्रिनिङ गराउनुपर्ने भन्दै क्यान्सर उपचारभन्दा रोकथाममा ध्यान दिनुपर्ने बताउनुभयो ।  “नेपालमा मात्र होइन, विश्वमा नै क्यान्सर बढिरहेको छ,” वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. चालिसेले भन्नुभयो, “मानिसको मृत्युमा क्यान्सर दुई नम्बरमा पर्दछ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा मृत्यु हुनेमा पहिलोमा मुटुसम्बन्धी रोग र दोस्रोमा क्यान्सर पर्दछ । 

क्यान्सरको उपचारमा सबैको पहुँचमा पु¥याउनुपर्ने भन्दै डा. चालिसेले देशमा क्यान्सरसम्बन्धी औषधी उत्पादन गर्ने कम्पनीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले क्यान्सरको औषधी नेपालमा नै उत्पादन गर्न सकिएमा सस्तो औषधी प्रयोग गर्न सकिने बताउनुभयो । उहाँका अनुसार ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको छ, बाँकी एक प्रतिशत क्यान्सरको उपचारका लागि मानिसहरू विदेश गइरहेका छन् । 

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही नेपालमा क्यान्सरसम्बन्धी जनचेतनाको अभाव हुँदा बिरामी अन्तिम अवस्थामा अस्पताल पुग्ने गरेको बताउनुहुन्छ । अन्तिम अवस्थामा अस्पताल पुग्दा बिरामी बचाउन कठिन हुने उहाँको भनाइ छ । उहाँले क्यान्सर रोगको स्क्रिनिङमा ध्यान दिनुपर्ने जानकारी दिँदै रोग पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सचेतना देशव्यापी रूपमा फैलाउन सके क्यान्सरबाट बच्न सकिने उहाँको भनाइ छ । सरकारी, सामुदायिक र निजी क्षेत्रबिच सहकार्य गर्न सकिएमा क्यान्सर रोगलाई कम गर्न सकिने उहाँको विश्वास छ । डा. चालिसेले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नका लागि किशोरीहरूलाई खोप र कलेजोको क्यान्सरका लागि हेपाटाइटिस ‘बी’ को भ्याक्सिन दिन सकिने बताउनुभयो । पहिलो चरणका क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने हुँदा सुरुमै अस्पताल जान उहाँको सुझाव छ । नेपालमा सबभन्दा धेरै हुने क्यान्सरमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर पर्दछ । यस्तै पाठेघरको मुखको क्यान्सर दोस्रो, स्तन क्यान्सर तेस्रो, पेटको क्यान्सर चौथो, ठुलो आन्द्राको क्यान्सर पाचौँ, मुखको क्यान्सर छैटौँ र सातौँ नम्बरमा रगतको क्यान्सर रहेको छ । 

डा. चालिसे चेतना र गरिबीका कारण धेरै क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको बताउनुहुन्छ । भक्तपुर क्यान्सर अस्पतालमा दैनिक पाँच सय बिरामी आउने गरेकोमा १० जनाको क्यान्सर पहिचान हुने गरेको उहाँको भनाइ छ । भक्तपुर क्यान्सर अस्पतालमा आएकामध्ये हप्तामा तीनदेखि पाँच जनाको यो रोगका कारण ज्यान जाने गरको छ । 

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।