• १३ माघ २०८२, मङ्गलबार

चर्चामा झापा ५, ओली–साह प्रतिस्पर्धाको देशभर चासो

blog

बिष्णुप्रसाद पोखरेल

दमक, माघ १३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र ५ अहिले देशको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र बनेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको उम्मेद्वारीले यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको हो । 

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा ५ को चर्चा छ । “ओली कि बालेन ?” प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहित बनाएको छ । यही कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभइ देशको राजनीतिक धार तय गर्ने निर्णायक लडाइँका रूपमा हेरिएको छ । आफ्नो पार्टीको तर्फबाट दुबैजनालाई निर्वाचनपछिको प्रधानमन्त्रीको रुपमा हेरिएको छ । यद्यपि त्यसको छिनोफानो मतदाताको हातमा छ ।  

एकातर्फ लामो राजनीतिक अनुभव, राज्य सञ्चालनको अभ्यास र संगठनात्मक शक्तिमा रहनु भएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र शहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । ओलीले उम्मेद्वारी दर्तापछि चार दिन झापा बसेर पार्टी संगठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रम गर्नुभएको छ । 

अध्यक्ष ओलीको निर्वाचन परिचालन समिति बनेको छ । पूर्वमन्त्री देबेन्द्र दहालको संयोजकत्वमा समिति बनेको छ । आचारसंहिताभित्र रहेर निर्वाचन केन्द्रित गतिविधि सुुरु गरेका छौ, दहालले भन्नुभयो । घरदैलो कार्यक्रम र आवश्यक प्रचार–प्रसारको काम तिब्र रुपमा अघि बढाइएको उहाँले जानकारी दिनुभयो । हामी विकास र देश बनाउने एजेण्डासाथ जनतामाझ गएका छौं–जान्छौ, उहाँले भन्नुभयो ।

दाहालका अनुसार मतदातालाई स्थानीय घोषणापत्र र प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीको विगतको उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ । एमालेले झापा ५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

रास्वपाका बरिष्ठ नेता रहनुभएका उम्मेद्वार बालेन भने दमक ५ मा बनाइएको सम्पर्क कार्यालयमा दूई दिन भेटघाट गरेर फर्कनुभएको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार साह आएर भेटघाट गरेपछि यहाँ थप जनलहर सिर्जना भएको छ । अहिले आफुहरुले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको उहाँले बताउनुभएको छ ।

बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गर्नुभएको छैन । भेट्न आएकाहरुसँग छोटो संवाद, सुझाव संकलन र फोटो खिच्ने शैलीले उहाँले ध्यान खिच्नुभएको छ । अब कार्यक्रम तय गरेर आएपछि उहाँले बोल्ने स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ । 

सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने साह पक्षको रणनीति छ । जनाताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तन साहलाई देखेका छन्, भट्टराईले भन्नुभयो ।

अन्य उम्मेद्वार ओझेलमा

ओली र साहको उम्मेद्वारीले चर्चा पाए पनि झापा ५ मा अन्य २२ जना उम्मेद्वार पनि चुनावी अभियानमा सक्रिय रहनुभएको छ । उहाँहरूले आफ्ना एजेण्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुग्न थाल्नुभएको छ ।

महिला उम्मेद्वार मैदानमा

नेपाली काँग्रेसबाट मन्धरा पौड्याल उम्मेद्वार रहनुभएको छ । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीका अनुसार रुपान्तरित काँग्रेस अहिले रुपान्तरण भएकाले चुनावी माहोल सकारात्मक छ । भण्डारीले युवा नेता गगन थापा पार्टी सभापति भएपछि संगठन थप सक्रिय भएको दाबी गर्नुभयो । “प्रमुख दलमध्ये यहाँ महिला उम्मेद्वारी दिने एकमात्र पार्टी नेपाली काँग्रेस हो” उहाँले भन्नुभयो । कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ ।

नेकपाबाट तामाङ मैदानमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उक्त पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेद्वार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आएका तामाङले युवा आकांक्षा, विचार र वैकल्पिक अर्थनीतिलाई आफ्नो मुख्य एजेण्डा बनाउनुभएको छ । “हामी मतदातामाथि भरोसा गर्छौं, त्यसैले घर–घरमा पुगिरहेका छौं” तामाङले भन्नुभयो । परिवर्तन, समानता र श्रमिक हित आफ्नो मुख्य एजेण्डा भएको उहाँ बताउनुहुन्छ ।

यसैगरी राप्रपाले लगातार तीन पटक यो क्षेत्रमा प्रतिनिधिसभा उम्मेद्वारी नदिएको र यसपटक उम्मेद्वार बनेकाले कार्यकर्ता निकै उत्साहित रहेको राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले बताउनुभयो । “तालमेलको हल्ला चल्यो, तर अहिले हामी आफ्नै जगमा उभिएका छौं” संग्रौलाले भन्नुभयो । राप्रपाले धर्म, संस्कृति, राष्ट्रिय पहिचान र सुशासनलाई मुख्य मुद्दा बनाएको उहाँको भनाइ छ ।

श्रम संस्कृति पार्टी पनि मैदानमा 

श्रम संस्कृति पार्टीबाट समिर तामाङ लगायत झापा क्षेत्र नं. ५ मा २४ जना उम्मेद्वारहरु चुनावी मैदानमा रहनुभएको छ । सबै पार्टीका उम्मेद्वार र स्वतन्त्र उम्मेदवारहरुले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका छन् । ओली र साहको चर्चाले अन्य उम्मेदवारहरु ओझेलमा परेको देखिन्छ ।

यो क्षेत्र राजनीतिक र जनसंख्यात्मक दृष्टिले अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । यहाँ ग्रामीण र शहरी दुबै क्षेत्रको मिश्रण, जातीय विविधता, औद्योगिक विकास र सीमानजिकको संवेदनशीलता छ । यस क्षेत्रको निर्वाचन र प्रतिस्पर्धाले पूर्वी नेपाल मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा ५ मा कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । तीमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका छन् ।