• १३ माघ २०८२, मङ्गलबार

अनलाइनमार्फत् छ महिनामा साढे १९ लाख ठगी

blog

अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिने उपायबारे प्रस्तुतिकरण गर्नु हुँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, माघ १३ गते । मोबाइल र इन्टरनेटको विस्तारले जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । सँगसँगै, अनलाइन ठगीका घटना पनि बढेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा चालु आर्थिक वर्षको छ महिनामा साइबर अपराधका दुई सय १३ उजुुरी परेका छन् । अनलाइनमार्फत् विभिन्न प्रकृतिका ठगी भएका छ सय साट वटा उजुरी परेका छन् । 

ती घटनामा १९ करोड १९ लाख ५० हजार रुपियाँभन्दा ठगीको दाबी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की बताउनुहुन्छ । पोखरा उद्योग वाणिज्य सङ्घ र पोखरा जेसिजले मङ्गलबार संयुक्त रुपमा आयोजना गरेको अनलाइन स्क्याम तथा विभिन्न ठगीका प्रवृत्ति र त्यसबाट जोगिन अपनाउनुपर्ने उपायसम्बन्धी अन्तक्र्रियामा प्रस्तुतिकरण गर्दै उहाँले यस्तो औंल्याउनुभएको हो । 

“यहाँ नपढेकाभन्दा पढेका मान्छे बढी फसेका, ठगिएका छन्,” कार्कीले भन्नुभयो, “फस्नुको एउटै कारण भनेको लोभ हो ।” यसरी ठगिनेमा क्याम्पसका प्राध्यापकदेखि कर्मचारीसम्म छन् । व्यापारीहरु पनि ठगिएका उजुरी आउने गरेका छन् । ‘व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याउने र पटकपटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो छ । 

“सकेसम्म मागे जति पैसा दिनुहुन्छ । अन्तिममा ठूलै रकम दिनुपर्ने भयो भनेमात्र हामीकहाँ उजुरी लिएर आउनुहुन्छ,” उहाँले भन्नुभयो, “यहाँ नेपाल टेलिकम र एनसेलको सिम लिनेको संख्या तीन करोड ११ लाख ३३ हजार छ । अर्थात्, एकभन्दा बढी मोबाइल हुने धेरै छन् । मोबाइलबाटै ठगी धन्दा भइरहेको छ ।”

कास्की प्रहरीले ओटिपी मागेर ठूलै रकम ठगी गर्नेहरुलाई ठगी मुद्दामै कारवाही अगाडि बढाउँदै आएको छ । सामाजिक सञ्जालबाट हुने ठगीको अनुसन्धान गर्न प्रहरीलाई सजिलो छैन । नक्कली फेसबुक र एक्स आइडीबाट हुने धन्दा डरलाग्दो छ । चिठ्ठा परेको, अनलाइन सपिङ गराउने, विदेशबाट पठाएको पार्सल भन्सारमा रोकियो भन्ने जस्ता बहाना बनाएर ठगी गर्ने गिरोहको चंगुलमा धेरै फसेका छन् । 

पोखरा उद्योग वाणिज्य सङ्घ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो । पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गर्नुभयो ।