यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), माघ १३ गते । बर्दियामा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउनका लागि राजनीतिक दल लगायत सम्पूर्ण पक्षले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियामा भएको राजनीतिक दल, उम्मेदवरा, निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समिति सहितको बैठकमा सो प्रतिवद्धता जनाएको हो ।
बैठकमा सहभागीहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्ने, शान्ति सुरक्षा र सौहार्दपूर्ण वातावरण कायम गर्ने, डरत्रास, हिँसा र अवाञ्छित गतिविधि नगर्ने, प्रचार– प्रसार मर्यादित बनाउने, मतदाता सचेतना अभिवृद्धि गर्ने, प्रशासन र सुरक्षा निकायसँग सहकार्य गर्ने लगाएतका प्रतिवद्धता जनाएका छन् ।
बैठकमा बोल्दै कार्यक्रमका सहभागीहरूले उजुरी परेपछि मात्र छानबिन गर्नु भन्दापनि निर्वाचन आचारसंहिता पालना भए नभएको आयोगको छुट्टै अनुगमन टोली बनाएर अनुगमन गर्नुपर्ने बताएका छन्। अनुगमन टोलीले अनुगमन र छानविन गरि आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरूले बताएका छन् ।
बर्दियाका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले आचारसंहिता पालना गर्नका लागि सम्पूर्ण पक्ष प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एक आपसमा आचारसंहिता पालना गरेमा उजुरी पनि नआउने र छानबिन पनि गर्नु नपर्ने बताउँदै आचासंहिता उल्लङ्घन गरेको उजुरी वा गुनासो आएमा कानुन अनुसार कारबाही हुने बताउनुभयो ।