• १३ माघ २०८२, मङ्गलबार

टाइगर कप भलिबल : पुलिसलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

blog

सन्तोष सुवेदी 

कास्की, माघ १३ गते । नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो । न्यु डायमन्ड तीन खेलबाट नौ अङ्कसहित फाइनलमा पुगेको हो ।

अब एपीएफ, न्यु डायमन्ड, क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ ।

यसअघि आजै भएको खेलमा थाइल्याण्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो । थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो । 

अब पुरुषतर्फको खेल पर्वत जिल्ला भलिबल सङ्घ र माल्दिभ्सबिच सुरु हुनेछ । त्यसपछि गण्डकी र पुलिस भिड्नेछन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी छन् । 

सिंगल राउन्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल माघ १६ गते र पुरुषतर्फको फाइनल खेल माघ १७ गते हुनेछ ।