• १३ माघ २०८२, मङ्गलबार

शुक्लाफाँटामा बढे जलपन्छी

blog

तालमा खेल्दै गरेका जलपन्छी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १३ गते । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सिमसारसहित पुुरैनी तालमा जलपन्छी बढेका छन् । यसवर्ष गणना गर्दा गत वर्षको तुलनामा जलपन्छी बढेको पाइएको हो । 

निकुञ्ज कार्यालयका अनुसार यसवर्ष शुक्लाफाँटासहित आसपासका तालतलैयामा विभिन्न प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । सिकारी तालमा २० हजार ९४९, महाकाली नदीमा ६४५, रानीमा तालमा २२७, राधापुर फाँटामा २१२, रतनपुर फार्म ल्याण्डमा ६१८ वटा जलपन्छी अभिलेख गरिएको छ । 

यसैगरी, तारातालमा ४५०, कालीकिच तालमा ५३, पुरैनी तालमा एक हजार ५५४, नकैया सिमसारमा ४७१, टुप्पा तालमा ७०, गरभिजला तालमा १३०, बन्धा तालमा २८१ जलपन्छी अभिलेख गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । निकुञ्जमा रहेका सिमसार र निकुञ्ज आसपासका तालतलैया तथा खेतमा रहेको सिमसार क्षेत्रमा ८२ प्रजातिका जलपन्छी भेटिएका थिए । 

सिमसारमा सिलसिले हाँस एक हजार ५५२, कलहाँस १२१, मणितुण्डक १५९, चखेवाचखेवी २८९, नकटा १२४ वटा अभिलेख गरिएको छ । यसैैगरी, हरिहाँस २९५, सुनजुरे हाँस ९२३, कैलेटाउके हाँस ३३०, मालक हाँस एक हजार २०७, कालीजुरे हाँस ३२५ वटा अभिलेख गरिएको छ । 

यसैगरी, श्वेताँखीभौं ४५२, बेल्चाठूँडे हाँस ८६८, खडखडे हाँस तीन हजार १३४, सिन्दुरे हाँस एक हजार २७०, नादुन हाँस १७, हरियोटाउके हाँस एक हजार ५९२, सुइरोपुच्छ«े हाँस तीन हजार २४७ वटा अभिलेख गरिएको छ । निकुञ्ज क्षेत्रको सिमसारमा सबैभन्दा बढी चार हजार ७७७ वटा विजुलागैरी फेला परेको जनाइएको छ । 

हिउँदमा डुबुल्की चरा, कालीकण्ठ डुबुल्कीचरा, ध्वाँसे सिमकुखुरा, झिली, सिमकुखुरा, कुर्मा, बगाले सिमकुखुरा, मरुल, सारस, भुँडीफोर गरुड, घुङ्घीफोर गरुड, कालो गरुड, लोभीपापी गरुड, कृष्णकण्ठ गरुड लगायत विभिन्न प्रजातिका जलपन्छी अभिलेख गरिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण संघ, जेएसएल शुक्लाफाँटा, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचर, नेपाल पन्छीविद संघ, नेचरगाइड शुक्लाफाँटा, रानाथारु होमस्टे र कञ्चनपुर पन्छी संरक्षण समूहको संयुक्त सहकार्यमा जलपन्छी गणना गरिएको थियो । 

चराविद हठन चौधरी, पोखरा पन्छी समाजका मनशान्त घिमिरे, एनटीएनसीका देवराज जोशी, नेपाल पन्छी संरक्षणका हिरुलाल डङ्गौरासहितको टोलीले गणना गरेको थियो । सिकारी र पुरैनी तालमा विगतको तुलनामा यसवर्ष जलपन्छीको सङ्ख्या उल्लेख्य वृद्धि भएको पाइएको चराविद डङ्गौराले जानकारी दिनुभयो ।