• १३ माघ २०८२, मङ्गलबार

म्याग्दीका उम्मेदवारले सुरु गरे घरदैलो

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,माघ १३ गते । आगामी फागुन २१ गतेको हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलका उम्मेदवारहरु ग्रामीण वस्तीका मतदाताको घरदैलो पुगेर भेटघाट थालेका छन् ।  माघ ६ गते उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक दलका उम्मेदवार जिल्लाको विकास योजनाको खाकासहित मतदाताका घरघरमा पुगेका हुन् । 

निर्वाचन आयोगले आगामी फागुन ४ गतेपछि मात्र निर्वाचन प्रचारप्रसारको कार्यक्रम गर्न पाइने समय तोकेपछि यतिखेर राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवार ग्रामीण वस्तीमा पुगेर मतदातालाई विकास योजना र प्राथमिकताका बारेमा सुनाउन थालेका छन्। 

जिल्लाको पर्यटन, जलविद्युत, सडक, खानेपानी, सिँचाई, कृषि र पशुपालनका योजनासहित युवालाई रोजगारी सिर्जना गर्ने जस्ता विकासका मुद्दा लिएर उम्मेदवार ग्रामीण वस्तीका मतदाताहरु भेटन पुगेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अर्जुन थापा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डाक्टर महावीर पुन यतिखेर मतदाताको घरघरमा पुग्नुभएको छ । 

अन्य साना दलका उम्मेदवारले पनि निर्वाचन केन्द्रित मतदाता भेटघाटका कार्यक्रम लिएर गाउँ पस्न थाल्नुभएको छ । उम्मेदवारसहित घरघरमा पुगेपछि मतदाता खुसी र उत्साहित बनेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन मुल समितिका संयोजक रेशमबहादुर बानियाँले बताउनुभयो । 

रघुगंगा गाउँपालिकामा पहिलोचरणमो मतदाता भेटघाटको कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । उम्मेदवार सहित राजनीतिक दल गाउँ पुग्न थालेपछि गाउँमा निर्वाचनका बारेमा छलफल र माहोल सिर्जना हुनथालेको उहाँको भनाइ छ । 

त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठ रघुगंगा गाउँपालिकाबाट मतादाता भेटघाट सुरु गर्नुभएको छ । नेकपाका उम्मेदवार अर्जुन थापाले अन्नपूर्ण गाउँपालिकामा मतदाता भेटघाटलाई सम्पन्न गर्नुभएको नेकपाका जिल्ला नेता शेरबहादुर केसीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डाक्टर महावीर पुनले धवलागिरी गाउँपालिमा मतदाता भेटघाट सकेर मालिका गाउँपालिकामा पुग्नुभएको छ । 

एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा कांग्रेसकाबाट कर्णबहादुर भण्डारी(केबी) नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक,नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्र उम्मेदवार निवर्तमान मन्त्री डा. महावीर पुन चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । 

जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ति मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । 

जिल्लामा ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ ।