काठमाडौँ, असार ३१ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको न्युकाम्बुस्डन क्रिकेट मैदानमा नेपाललाई घरेलु टिमले सजिलै हराउने अपेक्षा गरिएको थियो । सो मैदानमा गत आइतबार स्कटल्यान्डले नामिबियाविरुद्ध शानदार जित हात पारेको थियो भने नेपाललाई नामिबियाले नराम्ररी पछारेको थियो तर सबै समीकरणलाई उल्ट्याउँदै नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको ठूलो सफलता हात पारेको छ । नेपाल र स्कटल्यान्डबीचको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल हो । त्यसैले पनि नेपालका लागि यो जित ऐतिहासिक बनेको छ ।
स्कटल्यान्डको एक खराब दिनमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिनुभएको थियो । स्कटल्यान्डको बलियो ब्याटिङ टोलीले स्वाभाविक प्रदर्शन गर्न सकेन । नेपालले दोस्रो ओभरमा नै विकेट लियो । सोमपाल कामीले आफ्नो पहिलो ओभरमा म्याथ्यु क्रस (२ रन)लाई आउट गर्नुभएको हो । कालम म्याकलोइड (१३ रन) र यस प्रतियोगितापूर्व कप्तान पद छोडेका कोयल कोट्जर (६ रन) पनि पवेलियन फर्कंदा स्टकल्यान्डको स्थिति २२ रनमा तीन विकेट भइसकेको थियो ।
आदिल आलमले स्कटल्यान्डका प्रमुख ब्याट्सम्यान जर्ज मुन्सेलाई चार रनमा र सोमपालले नयाँ कप्तान रिची बेरिङ्टनलाई मात्र तीन रनमा आट गरेपछि स्कटल्यान्डको शीर्ष ब्याटिङ क्रम धराशायी भयो । स्कटल्यान्डको १०.१ ओभरमा ३३ रन मात्र बनाउँदा पाँच ब्याट्सम्यान गुमाइसकेको थियो ।
मिचेल लिक कम रनमै पवेलियन फर्कने अर्को ब्याट्सम्यान बन्दा स्कटल्यान्ड ४६ रनमा छ विकेट गुमाएर ठूलो सङ्कटमा प¥यो । यस प्रतिकूल अवस्थामा गेभिन मेनले ५९ बलमा अविजित ६४ रनको आकर्षक पालि खेल्नुभयो । स्कटल्यान्डको पालिमा एक्लो योद्धा बनेका मेनकै ब्याटिङले स्कटल्यान्ड डेढ सय रनको नजिक पुगेको हो । मेनले चार चौका र एक छक्का प्रहार गर्नुभयो । उहाँको पालिले स्कटल्यान्डले ४२.५ ओभरमा अलआउट हुनुअघि १४४ रन बनाएको थियो ।
नेपालका लागि युवा अलराउन्डर आदिल आलामले ३१ रनमा तीन र सामेपालले ४० रनमा तीन विकेट लिनुभयो । कप्तान सन्दीपले ३५ रन खर्च गरेर दुई ब्याट्सम्यानलाई सिकार बनाउनुभयो । करण केसी र दीपेन्द्र सिंह ऐरीले पनि एक–एक विकेट लिएर विकेटकर्ताको सूचीमा आआफ्नो नाम लेखाउनुभयो ।
स्कटल्यान्डको बलरलाई सहयोग गर्ने पिचमा नेपाल ढुक्क हुने स्थितिमा थिएन, पछिल्ला केही खेलमा नेपालको ब्याटिङ प्रदर्शन कमजोर थियो तर नेपालले स्कटल्यान्डविरुद्ध सामान्य लक्ष्य पछ्याउने क्रममा सहज ब्याटिङ ग¥यो ।
स्कटल्यान्डको पालिमा सर्वाधिक रन बनाउने मेनले तीन विकेट लिए पनि नेपाल जवाफमा कहिल्यै सङ्कटमा परेको देखिएन । एड्रियननिल र बेरिङ्टन अन्य दुई विकेट लिने बलर हुनुहुन्थ्यो तर प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले ६२ बलमा दस चौका र एक छक्कासहित ७१ रन बनाएपछि स्कटल्यान्ड खेलमा फर्किन सकेन । आसिफले विकेटकिपरको भूमिकामा दुई क्याच पनि लिनुभएको थियो । आसिफ जित नजिक पुग्दा मेनकै बलङमा आउट हुनुभयो ।
कुशल भुर्तेलले पनि २८ बलमा चार चौकासहित २७ रन बनाएर आसिफँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाउनुभयो । देव खनाल चार रनमा विवादास्पद क्याचमा आउट हुनुभयो । दीपेन्द्र (३ रन) ब्याटिङमा पुग्न असफल हुनुभयो । पछिल्लो खेलमा अर्धशतक बनाउने आरिफ शेखको ब्याटबाट एक रनमा निस्कियो । रोहित पौडेल ३१ बलमा ३४ रन बनाएर आउट हुनुभएन । रोहितले चौका प्रहार गरेर जित हात पार्दा १४९ बल बाँकी थियो । नेपालले २५.१ ओभरमा पाँच विकेटको क्षतिमा १४६ रन बनाएर जित प्राप्त गरेको हो ।