• ११ माघ २०८२, आइतबार

चिल्ड्रेन लाइफ कपमा आज सेमिफाइनलका खेल

blog

अर्जुन कार्की 
काठेखोला (बागलुङ), माघ ११ गते ।
बागलुङमा जारी चौथो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार समूह चरण र क्वाटरफाइनलका खेल सकिएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगितामा अमर आदर्श माध्यमिक विद्यालय, न्यू आयसिस एकेडेमी, चिल्ड्रन लाईफ इङ्गलिस बोर्डिङ स्कुल (निलो) र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबारको पहिलो खेलमा फ्युचर ब्राइटर माध्यमिक विद्यालयलाई ट्राइबेकरमा पराजित गर्दै गरिमा मावि क्वाटर फाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा गरिमाले फ्युचरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गरेको थियो । शनिबारको दोस्रो खेलमा आयोजक चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ स्कुल (रातो)लाई १–२ गोल अन्तरले पराजित गर्दै न्यू ओयसिस एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै, तेस्रो खेलमा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले विद्यामन्दिर माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्यो । चौथो खेमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल (निलो)ले रुद्रेपिपल माध्यमिक विद्यालयलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ भने शनिबारको अन्तिम खेलमा अमर आदर्श आवासिय माध्यमिक विद्यालयले गरिमा आवासिय माविलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइलमा प्रवेश गरेको छ ।

चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको आयोजना र चिल्ड्रेन लाइफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा सञ्चालित प्रतियोगितामा आइतबार सेमिफाइनलका खेल हुने क्लबका उपाध्यक्ष जीवन रोकाले बताउनुभयो । आइतबार पहिलो सेमिफाइनल अमर आदर्श आवासिय माध्यमिक विद्यालय र न्यू आयसिस एकेडेमीबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल आयोजक चिल्ड्रेन लाईफ (निलो) र आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयबिच हुने उपाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५५ हजार ५ सय ५५ रुपियाँ र ३३ हजार तीन सय ३३ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने टिमले नगद १० हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।