• ११ माघ २०८२, आइतबार

चुनावी एजेन्डा लिएर मतदाता रिझाउँदै सप्तरीका उम्मेदवार

blog

सप्तरी–२ मा मतदातालाई चुनावी एजेन्डाको विषयमा जानकारी दिनुहुँदै पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादव । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), माघ ११ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका सप्तरीका उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा बोकेर मतदाता रिझाउन व्यस्त छन् ।

सप्तरीको क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत निकास र विकासको एजेन्डा बोकेर मतदानको घरघर गएर मतदाता रिझाउन थाल्नुभएको छ । नेपाल विद्युत प्राधिकरणको प्रबन्धकबाट राजीनामा दिएर सोही क्षेत्रमा उज्यालो पार्टीबाट चुनावमा होमिनुभएका दिपक चौधरीले मुलुकको रूपान्तरण र भ्रष्टाचार अन्त्यका लागि उम्मेदवारी दिएको भन्दै मतदाता रिझाउन थाल्नुभएको हो ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको रामकुमार यादवले मधेशमा कृषि क्रान्ति, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्ने चुनावी एजेन्डा बोकेर मतदातासँग मत माग्न थाल्नु भएको स्थान मतदाता सावित्री देवले बताउनुभयो ।

सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएको रामजी यादवले सङ्घीयता बलियो बनाउन र नयाँ नेपाल निर्माण गर्न चुनावी मैदान उत्रिएको बताउनुभयो । क्षेत्र नं २ बाटै जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको पूर्व सिँचाइ मन्त्री उमेश यादवले पनि सङ्घीयता, सुशासन र सामाजिक न्यायका लागि उम्मेदवारी दिएको भन्दै मतदाता रिझाउन थाल्नुभएको छ ।

स्वाभिमान पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले किसानको कृषि क्षेत्र बलियो बनाउन र ग्राउन्ड स्तरको राजनीति गर्न चुनावमा होमिएर मतदातासँग मत मागेको बताउनुभयो ।

सप्तरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास, सुशासन र समृद्धिलाई संस्थागत गर्न चुनावी मैदानमा उत्रिएको भन्दै आफ्ना मतदाता रिझाउन टोल टोल घुम्न व्यस्त भएको स्थानीय मतदाता कविता यादवले बताउनुभयो ।

प्रतिनिधि सभाको क्षेत्र नं १ बाट उम्मेदवारी नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका रामदेव साह आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहदै आउनुभएको छ । जनताको हकहितका लागि काम गर्दै अगाडि बढ्ने बाँचाका साथ घरदैलो कार्यक्रममा व्यस्त हुनुभएको हो । त्यस्तै सोही क्षेत्रमाबाट नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको सुमनराज प्याकुरेलले दलित तथा पछाडि पारिएको समुदायको अधिकार सुनिश्चितका लागि उम्मेदवारी दिएको भन्दै मतदाता रिझाउन थाल्नु भएको हो ।

सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएको तेजुलाल चौधरी तथा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको डा. बबी सिंहलगायत उम्मेदवारहरूले आ–आफ्नो चुनावी एजेन्डा लिएर मतदाता रिझाउन दौडाहामा लागेको स्थानीय मतदाता धर्मेन्द्र यादवले बताउनुभयो ।

यसबाहेक पनि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिनुभएका नेताहरू यतिबेला मत माग्न व्यस्त हुनुहुन्छ भने मतदाताहरू पनि अहिले चुनावको चर्चालाई नै प्राथमिकतामा राखेको नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डलले बताउनुभयो ।

जिल्ला रहेको चार निर्वाचन क्षेत्रको लागि २० महिलासहित एक सय पाँच जनाले उम्मेदवारी दिनुभएको थियो । दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि एक सय तीन जनाको उम्मेदवारी कायम रहेको छ ।