गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ११ गते । कृष्णप्रसाद पाठकको आत्मकथा ‘आफैँलाई फर्केर हेर्दा’ को शनिबार एक कार्यक्रमबिच विमोचन गरिएको छ । पाठकको आत्मकथामा लेखकको जीवनयात्रा, सङ्घर्ष, राजनीतिक उतारचढाव, सामाजिक भोगाइ तथा व्यक्तिगत स्मृतिलाई अत्यन्तै सरल र यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
नेपालको करिब ८०–८५ वर्षअघिदेखिको ग्रामीण जीवनदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा समेटिएको यस कृतिले समकालीन नेपाली समाज, राजनीति र नेतृत्वको भित्री पाटोलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छ । साथै पुस्तकमा नेपाली कांग्रेसभित्रको सङ्गठनात्मक राजनीति, भूमि सुधार तथा सु्कुमवासी समस्या, राजनीतिक आन्दोलनका क्रममा भोग्नु परेका गिरफ्तारी र दमन साथै गम्भीर स्वास्थ्य समस्यासँग जुद्धाको जीवनदृष्टिसमेत समेटिएको छ ।
कार्यक्रममा कृष्ण धरावासी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहन सिटौला, पूर्वराजदूत कृष्ण ओली, पत्रकार प्रतीक प्रधान, सीमाविद् पुण्य ओली, लेखक खगेन्द्र सङ्ग्रौला तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीलगायतका वक्ताले आत्मकथामा समेटिएका विषयका बारेमा टिप्पणी गर्नुका साथै लेखक पाठकको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा केक काटेर पाठकको ८८ औँ जन्मदिन पनि मनाइएको थियो ।