• ११ माघ २०८२, आइतबार

व्यापार पूर्वाधार विकासमा छलफल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । नेपाल र चीनबिच व्यापार पूर्वाधार विकास एवं प्राविधिक सहयोगका सन्दर्भमा छलफल भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको हालै सम्पन्न तेस्रो वाणिज्य सचिवस्तरीय बैठकमा यसबारे छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

सो क्रममा सन् १९८१ को व्यापार तथा भुक्तानी सम्झौताको समसामयिक संशोधन, व्यापारी, चालक र सहचालकका लागि सीमा प्रेस पास सरलीकरण, टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रियालाई तीव्रता दिने सम्बन्धमा पनि छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । 

नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिपश्चात् पनि चीनको शून्य भन्सार नीतिलाई निरन्तरता दिने विषय तथा विपत्का समयमा चिनियाँ पक्षले सवारीसाधन पुनर्मार्गीकरण सुविधा दिने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र चिनियाँ पक्षबाट सिजाङ जनसरकारका उपाध्यक्ष चाओ पेङले नेतृत्व गर्नुभएको थियो ।