राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा) माघ ११ गते । स्याङ्जाको वालिङमा हुने महोत्सवलाई गण्डकी प्रदेशमा नै उत्कृष्ट मानिन्छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गरिँदै आएको महोत्सवको ‘नवौं संस्करण आगामी माघ १४ गतेबाट सुरु हुँदै छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय महोत्सवलाई संस्कृति र परम्परा जोगाउने अभियानको रुपमा अगाडि सारिएको आयोजकको भनाइ छ ।
वालिङ नगरपालिका–८ स्थित खेल मैदानमा हुने महोत्सवमा इतिहास झल्काउने घुमाउरो (गोलो) घर निर्माण गरिएको छ । घरलाई परम्परागतशैलीमा निर्माण वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, “घरमा हामीले नेपालीहरुले कुनै बेला प्रयोग गर्ने विभिन्न सामाग्रीहरु राख्ने छौं ।”
अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनलाइ प्राथमिकतामा राखेर महोत्सव गर्न लागेको जानकारी दिनुभयो । महोत्सवमा अर्गानिक कफी प्रदर्शनी, पशुपंक्षीसम्बन्धी उन्नतजात तथा प्रविधिको प्रदर्शनी, अदुवा तथा जडिबुटीको प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, खेलकुद प्रतियोगिता, बालउद्यान, हस्तकला प्रदर्शनीलगायत स्थानीय कलासंस्कृति प्रदर्शनी हुने उहाँको भनाइ छ ।
महोत्सवबाट एक करोड ६८ लाख आम्दानी तथा एक करोड १४ लाख ५१ हजार खर्च हुने संघका कोषाध्यक्ष खगुपति न्यौपानेले जानकराी दिनुभयो । उहाँका अनुसार महोत्सवमा ५३ लाख ४९ हजार बचत हुने अनुमान रहेको छ ।
नवौ वालिङ महोत्सवमा १० करोडको अल्पकालिन कारोबार र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको खनालको भनाइ छ ।
संघले प्रत्येक दुई/दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । माघ १४ देखि २५ गतेसम्म गरी १२ दिन सञ्चालन हुने संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक पिताम्वर खनाल (शुसिल)ले जानकारी दिनुभयो ।