• ११ माघ २०८२, आइतबार

विमानस्थलको आम्दानी सात सय अट्ठाइस रुपियाँ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । राज्यको करोडौँ रुपियाँ लगानीमा निर्माण भएको विमानस्थलको वार्षिक आम्दानी ७२८ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर ४८ वर्षसम्म कच्ची धावनमार्ग हुँदा सञ्चालनमा रहेको र कालोपत्रे भएपछि ठप्प रहेको खोटाङको लामीडाँडा विमानस्थलले आर्थिक वर्ष २०८१/८२ भरमा गरेको आम्दानी यत्ति नै हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कच्ची अवस्थामै कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको लामीडाँडा विमानस्थलले अघिल्लो आव २०८०/८१ मा पनि ४७४ रुपियाँ मात्रै कमाइ गरेको थियो ।

लामीडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्रे धावनमार्ग भएका सुविधायुक्त नौ वटा विमानस्थलको अवस्था त्यस्तै छ । कुनै बेला राजनीतिक दलका घोषणापत्रमा पहिलो प्राथमिकता पाएका बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन् तर विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानीको लाभ लिन सकिएको छैन । जहाजको अभाव, सडकमार्गको पहुँच, महँगो भाडालगायतका कारण उडान नहुने भएपछि उक्त विमानस्थलमा जडान भएका उपकरणसमेत अन्यत्र सारिएको छ । 

प्राधिकरणका अनुसार सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यो विमानस्थलले पछिल्लो एक वर्षमा १२ अर्ब ९० करोड ६८ लाख ९० हजार ९०१ रुपियाँ आम्दानी गरेको छ । सबैभन्दा बढी कमाउने विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ । यो विमानस्थलले पछिल्लो एक वर्षमा ३६ करोड दुई लाख ३१ हजार ५१५ रुपियाँ आम्दानी गरेको छ ।  

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले २८ करोड ९७ लाख ५३ हजार ९५९ रुपियाँ आम्दानी गरेको छ । यो विमानस्थल काठमाडौँ र पोखरापछि धेरै यात्रु दिने विमानस्थल हो ।विराटनगर विमानस्थलले गत आव २०८१/८२ मा १९ करोड २० लाख, २६ हजार ४७ रुपियाँ आम्दानी गरेको छ । तथ्याङ्क अनुसार सोही अवधिमा नेपालगन्ज विमानस्थलले १४ करोड ६० लाख ७९ हजार ४२३ रुपियाँ, धनगढी विमानस्थलले सात करोड ३४ लाख ५१ हजार ४०६, जनकपुर विमानस्थलले सात करोड १५ लाख ५५ हजार ८७८, सिमरा विमानस्थलको आम्दानी पाँच करोड ३६ लाख ९७ हजार १२८ रुपियाँ आम्दानी भएको छ ।

त्यसै गरी काठमाडौँपछि पर्यटकले बाक्लो ओहोरदोहोर गर्ने लुक्ला विमानस्थलले छ करोड २१ लाख ९० हजार ७८९ रुपियाँ आम्दानी गरेको छ ।

प्राधिकरणले आव २०८१/८२ मा देशभर सञ्चालनमा रहेका विमानस्थललगायतका उड्डयन सेवाबाट १४ अर्ब ६९ करोड तीन लाख ३१ हजार रुपियाँ आम्दानी गरेको छ ।