गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ११ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक रूपान्तरणमार्फत समुन्नत नेपालको अवधारणा साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सर्लाहीका मतदातासँग शनिबार काठमाडौँमा सम्पन्न अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले युवापुस्ताको परिवर्तनको आकाङ्क्षा र मुद्दालाई समयसापेक्ष कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभएको हो ।
उहाँले राजनीतिको अबको मुख्य मुद्दा नै रोजगारी सिर्जना हुनुपर्ने प्रस्ट पार्दै नेपालमा बसेर दुई/तीन लाख रुपियाँ आम्दानी गर्न सक्ने वातावरण बनाउन नीतिगत र योजनाबद्ध काम अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “अब राजनीतिको मुद्दा रोजगारी हुनु पर्छ । हामीले सपना देख्नु पर्छ कि एउटा नेपाली युवाले नेपालमै बसेर महिनाको दुई/तीन लाख रुपियाँ कमाइ गर्न सकून् । यो मेरो दृष्टिकोण हो, लक्ष्य हो । लक्ष्य नराखी हामी त्यहाँ पुग्न सक्दैनौँ ।”
सभापति थापाले स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा नौ महिनामा स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि अधिकतम प्रयत्न गरेको, सहुलियतमा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्न सुधारका काम गरेको बताउँदै स्वास्थ्य, शिक्षासहित आधारभूत आवश्यकतामा व्यापक सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी पाँच वर्षका लागि देशको समग्र रूपान्तरणको कार्यदिशा पनि प्रस्तुत गर्नुभयो ।
परिवर्तनको चाहना संस्थागत हुन्छ
सभापति थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले समग्र प्रणालीमै परिवर्तनको मुद्दा उठाएको बताउँदै युवाको निराशालाई सम्बोधन गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । उहाँले युवाको परिवर्तनको चाहना आन्दोलनमार्फत व्यक्त भएको र त्यसलाई अपनत्व ग्रहण गरिएको, पार्टीको नीति र नेतृत्व परिवर्तन गरेर नागरिकका आकाङ्क्षालाई योजनाबद्ध पूरा गर्न निर्वाचनमा होमिएको बताउनुभयो ।
सभापति थापाले काठमाडौँ क्षेत्र नं. ४ मा तीन पटक जिते पनि सजिलो ठाउँ छाडेर चुनौती रोजेको बनाउनुभयो । उहाँले कांग्रेसको भविष्य मधेश प्रदेशसँग जोडिएको बताउँदै मधेश प्रदेशको समुन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, “मधेशको माटोसँग जोडिएर मधेशमै कांग्रेसको जग बलियो बनाउन सर्लाहीबाट उम्मेदवारी दिएको हुँ ।”
यसै क्रममा धनकौल गाउँपालिकाका अध्यक्ष एवं कांग्रेसका सर्लाही क्षेत्र नं. ४ का सभापति रामआश्रय साहले सभापति थापाले उम्मेदवारी दिएपछि नागरिकपङ्क्तिमा नयाँ आशा र भरोसा पलाएको बताउनुभयो । उहाँले देशको नेतृत्व गर्ने नेता जिल्लामा आउनुले राजनीतिप्रति विश्वास आर्जन हुने बताउनुभयो ।