• ११ माघ २०८२, आइतबार

नेपाल­–जापान सम्बन्ध बलियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ११ गते । नेपालका लागि जापानका राजदूत तोरु माइदाले नेपाल­–जापान सम्बन्ध ऐतिहासिक कालखण्डदेखि नै बलियो र सुमधुर रहेको बताउनुभएको छ । जाइका अलमुनाई एसोसिएसन अफ नेपाल (जान) को ५२औँ वार्षिकोत्सव समारोहमा राजदूत माइदाले आगामी दिनमा दुई देशबिचको मित्रवत् सम्बन्धले थप उचाइ लिने बताउनुभयो ।  

यस वर्ष नेपाल­–जापान औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ भएको भन्दै राजदूत माइदाले उक्त समारोह भव्यताका साथ सम्पन्न गर्ने तयारी रहेको जानकारी दिनुभयो । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनको स्मरण गर्दै उहाँले भविष्यको चिन्ता नयाँ सरकार र आगामी दिनमा हुने निर्वाचनको तयारीले मेटिदिएको बताउनुभयो । यस्ता परिवतर्नले भविष्यमा दुई देशबिच गरिने विकास साझेदारीलाई नयाँ ढङ्गले सोच्न मार्गनिर्देश गर्नेसमेत उहाँले बताउनुभयो । 

विशेष अतिथि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपालको विकास सहकार्यमा लामो समयदेखि वर्तमानसम्म जापान सरकारका तर्फबाट सहकार्य जारी रहेका उल्लेख गर्नुभयो । उहाँले नेपालका २१ विविध क्षेत्रमा जाइकाले सहकार्य गरेको उल्लेख गर्नुभयो ।

अलमुनाईका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालले जापान सरकारबाट विकास साझेदारी मात्र नभएर ज्ञान, सिप तथा प्रविधिमार्फत जनशक्तिलाई सक्षम बनाउने सहकार्य लामो समयदेखि भइरहेको बताउनुभयो । जापानबाट नेपालले नैतिक आचरण सम्बद्ध विषयदेखि विकासमा लागिपर्ने आँट र मेहनतको सिकाइलाई मनन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

समारोहका अवसरमा संस्थाले प्रकाशन गरेको मिलन जर्नलको लोकार्पण गर्नुका साथै पुराना प्रधान सम्पादक डा. बुद्धिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, संस्थानका नयाँ पुराना सदस्यलगायतको सहभागिता थियो ।