• १४ असार २०८१, शुक्रबार

प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

blog

काठमाडौँ, असार ३१ गते । प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको छ ।

यस्तो कारबाही गरिएका सबै जना करार सेवामा कार्यरत अध्यापक रहेको त्रिविले जनाएको छ । परीक्षासम्बन्धी गोपनीयताका कारण उहाँहरूको नाम त्रिविले गोप्य राखेको छ । त्रिविले असार २२ गते सञ्चालन गरेको बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन बिहेविअर’ विषयको वार्षिक परीक्षामा मोर्डन नेपाल कलेजको प्रिबोर्डमा सोधिएको प्रश्न सोधिएको थियो । उक्त परीक्षा रद्द गरेर साउन १ गते अर्को परीक्षा सञ्चालन गर्ने निर्णय पनि त्रिविले गरेको छ । 

त्यस्तै बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको परीक्षाको प्रश्नपत्रको शीर्षकमा सोही विषय राखे पनि प्रश्न ‘सोसोलोजी फर बिजनेस’ विषयको सोधिएको थियो । बीबीए छैटौँ सेमेस्टरकै ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र निर्माणकर्ता शिक्षकले उक्त प्रश्नपत्र डिन कार्यालयको प्रश्नपत्र बैङ्कमै रहेको अवस्थामा नमुना प्रश्न भन्दै आफ्नो पाठ्यपुस्तकमा हुबहु समावेश गरेका थिए । त्रिविका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले परीक्षाको गोपनीयता भङ्ग गरी परीक्षाप्रति गम्भीर खेलबाड गरेकाले यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । 

त्यस्तै शङ्करदेव क्याम्पसले यसै वर्षको प्रिबोर्ड परीक्षामा मौलिक प्रश्न नसोधी बजारमा पाइने पुस्तकबाट हुबहु सोध्ने प्रश्नकर्तालाई डिन कार्यालयको परीक्षासम्बन्धी सबै गतिविधिमा संलग्न नगराउने निर्णय गरिएको छ । त्रिविका अनुसार व्यवस्थापन सङ्कायको परीक्षा सञ्चालनमा देखिएको समस्या तथा कमजोरीबारे अध्ययन गरेर सुझाव पेस गर्न प्राध्यापक डा. भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि त्रिविले गरेको छ । 

“प्रश्नपत्र बनाउने जिम्मा पाएका प्राध्यापकले अल्छी गरेर पहिले बनाएको प्रश्नपत्र नै दिने र अर्काले बनाएको प्रश्नपत्र सार्नेजस्ता समस्या देखिएको छ,” उपकुलपति डा. बाँस्कोटाले भन्नुभयो, “प्रश्नपत्र बनाउनुभन्दा अर्काको किताबबाट सार्ने गरेको पाइएकाले अबदेखि हस्तलिखित प्रश्नपत्र माग्ने तयारी गरेका छौँ ।” पछिल्लो समय त्रिविले सञ्चालन गरेको परीक्षामा प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाही भएको भन्दै विद्यार्थी आन्दोलनमा छन् । पटक–पटक लापरबाही भए पनि दोषीलाई कडा कारबाही नभएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा उत्रेका विद्यार्थीले रजिस्ट्रार, डिन तथा अन्य कार्यालयमा ताला लगाएका छन् । 

परीक्षा तथा विश्वविद्यालयको समग्र पक्षमा सुधारको माग गर्दै ज्ञापनपत्र बुझाउन जाने क्रममा असार २७ गते विद्यार्थीले उपकुलपति कार्यालय तोडफोड गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् ।

त्रिवि सुधारका १३ बुँदे माग राख्दै सोही विद्यार्थी सङ्गठनको नेतृत्वमा विद्यार्थी मङ्गलबारदेखि उपकुलपति कार्यालयअगाडि आमरण अनशन बसेका छन् । स्वास्थ्य समस्या बिग्रेपछि अनशन बसेकामध्ये सङ्गठनका केन्द्रीय अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई बुधबारदेखि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

 संसदीय समितिको निर्देशन

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले प्रश्नपत्र निर्माणमा अल्छी गर्ने प्राध्यापकलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले भन्नुभयो, “प्रश्नपत्रका सम्बन्धमा कहाँ–कहाँ गल्ती भएको छ । गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।” समिति सदस्य योगेश भट्टराईले दोषीलाई कारबाही गर्नुपर्ने भन्दै त्रिवि कार्यालय तोडफोड गर्नेलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो । समिति सदस्य गिरिराजमणि पोखरेलले त्रिविलाई  पुनर्संरचना गर्नुपर्ने बताउनुभयो । 


Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।