• १३ असोज २०८१, आइतबार

श्रीलङ्काका पूर्व राष्ट्रपति राजापाक्ष सिङ्गापुर अवतरण

blog

सिङ्गापुर,असार  ३० गते । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर आइपुग्नु भएको छ । 

उहाँलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । 

मन्त्रालयको अनुमतिमा उहाँ सिङ्गापुर आउनुभएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । 

साउदी विमानमार्फत् उहाँ माल्दिभ्सबाट सिङ्गापुर आउनुभएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । 

स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उहाँ सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिनु भएको हो ।  

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

उहाँको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जानुहुने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बस्नुभएका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुग्नुभएको थियो । त्यहाँ उहाँ एक दिन बसेर सिङ्गापुर आउनुभएको हो । 

उहाँले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।  

सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिनुभएको छ ।