• ९ माघ २०८२, शुक्रबार

निर्वाचन प्रहरीको लिखित परीक्षामा १ हजार ३ सय ४४ जना सहभागि

blog

जाजरकोटमा लिखित परीक्षामा सहभागि निर्वाचन प्रहरी । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, माघ ९ गते । जाजरकोटमा निर्वाचन प्रहरी लिखित परीक्षा, १ हजार ३ सय ४४ जना सहभागी भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन का लागि खटिने प्रहरी जनशक्ति छनोट प्रक्रिया अन्तर्गत जाजरकोटमा लिखित परीक्षा सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट र सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर जाजरकोटको संयुक्त रुपमा त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा लिखित परीक्षा सञ्चालन गरिएको हो । परीक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फ आवेदन दिएका उम्मेदवारहरूको सहभागिता रहेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सूधिर कुमार खड्काले नेपाल प्रहरीतर्फ ८ सय ८६ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना गरी कुल ९८२ जना माग गरिएको जानकारी दिनुभयो ।

प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरीतर्फ १ हजार ४ सय १३ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ १ सय ७३ जना गरी जम्मा १ हजार ५ सय ८६ जनाले आवेदन दिएका थिए । प्रारम्भिक चरणको शारीरिक तन्दुरुस्ती परीक्षामा १ सय १३ जना फेल भएका छन् भने १ सय २९ जना उम्मेदवार अनुपस्थित रहेको जनाइएको छ ।